Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

‘धानखेत जोगाउन नसके खाद्य सुरक्षामा संकट आउन सक्छ’

‘धानखेत जोगाउन नसके खाद्य सुरक्षामा संकट आउन सक्छ’
विज्ञापन
Advertisement

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले धानखेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा नेपालको खाद्य सुरक्षामा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प अरु हुन नसक्ने बताए।

उनले पछिल्लो समय प्लटिङ, जलवायु परिवर्तन, बसाइँसराइ तथा अन्य कारणले धानखेतीयोग्य जमिन निरन्तर घट्दै गएको उल्लेख गर्दै त्यसको संरक्षण सबैको साझा दायित्व भएको बताए। ‘आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान उत्पादन गर्न धानखेत नै चाहिन्छ,’ उनले भने, ‘त्यसैले धान खेत जोगाउनु हाम्रो साझा जिम्मेवारी हो।’

सचिव मिश्रका अनुसार धानभन्दा बढी आम्दानी हुने मकै, उखुलगायत अन्य बालीतर्फ किसानको आकर्षण बढ्दै जाँदा धानखेतीको क्षेत्रफल पनि खुम्चिँदै गएको छ। यसले भविष्यमा खाद्य सुरक्षामै चुनौती थपिन सक्ने उनको भनाइ थियो।

उनले नेपालमा पाइने स्थानीय धानका जातहरूको संरक्षण अपरिहार्य रहेको पनि बताए। एउटै गाउँ र एउटै घरमा समेत पाँच–पाँचवटा स्थानीय धानका जात भेटिने गरेको अनुभव सुनाउँदै उनले यस्ता जात हराएपछि बजारले पुनः उपलब्ध गराउन नसक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। धान उत्पादन वृद्धि गर्ने पर्याप्त सम्भावना नेपालसँग रहेको उल्लेख गर्दै मिश्रले हाल प्रतिहेक्टर औसत उत्पादन करिब चार टन रहेको जानकारी दिए। अन्य देशमा प्रतिहेक्टर १० टनसम्म उत्पादन भइरहेको उल्लेख गर्दै नेपालले उत्पादनलाई आठ टनसम्म पुर्‍याउन सके देश धानमा आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ।

उनले चैते धानको खेती विस्तार गरी दुई बाली धान प्रणाली लागू गर्न सके एकदेखि दुई लाख हेक्टर क्षेत्रमा थप धान उत्पादन सम्भव हुने र त्यसबाट देशमा चामलको अभाव हटाउन सकिने धारणा राखे।कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले धान अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग अझै अपेक्षाअनुसार हुन नसकेको बताए। उनले हाइब्रिड धानलगायत बाली अनुसन्धानलाई प्रभावकारी बनाउन नयाँ अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक बजेट तथा लगानी उपलब्ध गराइदिन कृषि मन्त्रालयसँग आग्रह गरे।

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा वैज्ञानिक, कृषि विज्ञ, किसान तथा सरकारी अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit