काठमाडाैं । आगामी आर्थिक वर्षको बजेटलाई लिएर बीमा क्षेत्रलाई कसरी सम्बोधन गरेको छ । जीवन बीमाको अवस्था कस्तो छ?आगामी दिनमा जीवन बीमा कसरी अघि बढीरहेको छ त, समस्या र चुनौतिहरु केके छन्,यी र यस्तै विषयमा केन्द्रित रहेर सिटिजन लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत पोशकराज पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
समग्रमा हेर्दा यो बजेट केही नयाँ सोच र फरक दृष्टिकोणका साथ आएको देखिन्छ। प्रत्यक्ष रूपमा बीमा क्षेत्रलाई धेरै सम्बोधन नगरिए पनि मध्यम वर्गलाई राहत र प्रोत्साहन दिने प्रयास गरिएको छ। अर्थतन्त्रको मेरुदण्ड नै मध्यम वर्ग भएकाले उनीहरूको आय, बचत र आर्थिक अवस्था सुधार हुँदा त्यसको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्छ। मध्यम वर्ग बलियो भयो भने बीमाको पहुँच र बीमा सचेतना दुवै विस्तार हुन्छन्। त्यसैले हामीले यो बजेटलाई सकारात्मक रूपमा लिएका छौं।
अहिले जीवन बीमा क्षेत्रको अवस्था कस्तो छ ?
जीवन बीमा क्षेत्र अहिले सकारात्मक दिशामा अघि बढिरहेको छ। अन्य धेरै क्षेत्रको तुलनामा जीवन बीमाको वृद्धि दर राम्रो छ। बीमाको पहुँच गाउँ–गाउँसम्म पुगेको छ। आजको अवस्थामा बीमाबारे नसुनेको व्यक्ति भेट्न गाह्रो छ। बीमाप्रतिको जनचेतना उल्लेख्य रूपमा बढेको छ। अब चुनौती भनेको पहुँच विस्तारसँगै बीमालाई मानिसहरूको प्राथमिकतामा राख्ने हो।
स्वास्थ्य बीमा कार्यक्रम किन समस्यामा परेको जस्तो देखिन्छ ?
स्वास्थ्य बीमा क्षेत्रमा मुख्य समस्या प्रभावकारी अनुगमनको अभाव हो। कसले कति उपचार गर्यो, कति खर्च गर्यो, औषधि वास्तवमै प्रयोग भयो कि भएन भन्ने विषयमा पर्याप्त निगरानी हुन सकेन। प्रणाली बलियो नहुँदा खर्च बढ्दै गयो र चुहावटको अवस्था सिर्जना भयो। त्यसैले अहिले देखिएका धेरै समस्याको जड व्यवस्थापन र अनुगमनकै कमजोरी हो।
निजी क्षेत्रका स्वास्थ्य बीमा कार्यक्रम अपेक्षाकृत राम्रो चलिरहेका छन्, तर सरकारी कार्यक्रम किन चुनौतीमा परेको छ ?
सरकारी स्वास्थ्य बीमा केवल बीमा मात्र होइन, सामाजिक सुरक्षासँग पनि जोडिएको विषय हो। संविधानले नै नागरिकको स्वास्थ्यलाई आधारभूत अधिकार मानेको छ। त्यसैले सरकारले आर्थिक भार बढे पनि यो जिम्मेवारी लिनुपर्छ। तर व्यवस्थापन र निगरानी अझ प्रभावकारी बनाउन सकियो भने यसको परिणाम धेरै राम्रो आउन सक्छ। आवश्यक परे व्यवस्थापनमा निजी क्षेत्रको अनुभव र दक्षता पनि उपयोग गर्न सकिन्छ।
पछिल्लो समय बीमा पोलिसी ‘सरेन्डर’ गर्ने प्रवृत्ति बढेको चर्चा छ । तपाईंको धारणा के छ ?तथ्यांक हेर्दा सरेन्डरको दर बढ्दो होइन, बरु क्रमशः घट्दो अवस्थामा छ। बीमा एउटा दीर्घकालीन वित्तीय उत्पादन हो। बैंकमा खाता खोल्ने र बन्द गर्ने प्रक्रिया जस्तै बीमामा पनि केही व्यक्तिले आवश्यकता अनुसार सरेन्डर गर्न सक्छन्। दक्षिण एसियाली देशहरूसँग तुलना गर्दा नेपालको सरेन्डर दर अझै कम छ। त्यसैले यसलाई अस्वाभाविक रूपमा लिनु हुँदैन।
सरेन्डर दर अझ कम गर्न के गर्नुपर्छ ?
हामीले ग्राहकलाई निरन्तर परामर्श दिने, बीमाको दीर्घकालीन लाभबारे बुझाउने र सरेन्डरको विकल्पबारे जानकारी दिने काम गरिरहेका छौं। सम्पूर्ण बीमा उद्योगले पनि ग्राहक शिक्षा र काउन्सेलिङलाई प्राथमिकता दिएको छ।
कतिपयले बीमा कम्पनीहरू बजार हिस्सा र नाफा बढाउनमै केन्द्रित छन् भन्ने आरोप लगाउँछन् । तपाईं के भन्नुहुन्छ ?
हाम्रो मुख्य उद्देश्य बजार हिस्सा बढाउनु मात्र होइन, सकेसम्म धेरै नेपालीलाई बीमाको पहुँचमा ल्याउनु हो। व्यवसाय विस्तार हुनु त्यसको स्वाभाविक परिणाम हो। बीमा कम्पनी दिगो र नाफामूलक हुनु आवश्यक छ, किनभने त्यसबाट नै भविष्यमा दाबी भुक्तानी, सेवा प्रवाह र ग्राहकप्रतिको दायित्व पूरा गर्न सकिन्छ। त्यसैले नाफा र सेवा एकअर्काका पूरक विषय हुन्।
सामाजिक सुरक्षा कोष विस्तार हुँदै जाँदा निजी बीमा कम्पनीहरू प्रभावित हुने सम्भावना देख्नुहुन्छ ?
त्यस्तो सम्भावना म देख्दिनँ। विकसित देशहरूमा पनि सामाजिक सुरक्षा प्रणाली र निजी बीमा कम्पनीहरू सँगसँगै सञ्चालन भइरहेका छन्। सामाजिक सुरक्षा कोषले न्यूनतम सुरक्षा दिन्छ, तर मानिसहरूको आवश्यकता त्यसभन्दा फरक र व्यापक हुन्छ। बालबालिकाको शिक्षा, निवृत्तिपछिको योजना, विशेष बचत तथा लगानी योजनाजस्ता धेरै सेवा निजी बीमाले प्रदान गर्छ। त्यसैले दुवै प्रणालीले फरक–फरक आवश्यकता पूरा गर्छन्।
बीमा क्षेत्रको दायरा अझ विस्तार गर्न के गर्नुपर्छ ?
सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना हो। बीमालाई खर्च होइन, आवश्यक सुरक्षा र दीर्घकालीन आर्थिक योजना भनेर बुझाउनुपर्छ। हामीले विभिन्न अभियानमार्फत बीमाको आवश्यकता र महत्वबारे जानकारी दिइरहेका छौं। जब मानिसहरूले बीमालाई प्राथमिकतामा राख्न थाल्छन्, तब यसको पहुँच स्वतः विस्तार हुन्छ।
सिटिजन लाइफले अहिले कुन–कुन क्षेत्रमा काम गरिरहेको छ ?
हामी विभिन्न वर्ग र आवश्यकतालाई लक्षित गरेर नयाँ–नयाँ बीमा योजना विकास गरिरहेका छौं। बालबालिकाको शिक्षा, निवृत्ति योजना, स्वास्थ्य सुरक्षा, घातक रोग सुरक्षा, व्यवसायीको जोखिम व्यवस्थापन लगायतका क्षेत्रलाई लक्षित गरी उत्पादन ल्याइरहेका छौं। साथै, लगानीलाई पनि ऊर्जा, जलविद्युत्, होटल, अस्पताल लगायत विभिन्न क्षेत्रमा विविधीकरण गर्दै आएका छौं।
नेपालको अर्थतन्त्रमा बीमा क्षेत्रको भूमिका कत्तिको महत्वपूर्ण छ ?
विकसित देशहरूमा बीमा क्षेत्र अर्थतन्त्रको बलियो आधारस्तम्भको रूपमा स्थापित छ। अर्थतन्त्रमा उतारचढाव आउँदा पनि बीमा क्षेत्रले स्थायित्व दिन मद्दत गर्छ। नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रमा यसको भूमिका झन् बढी महत्वपूर्ण छ । त्यसैले बीमालाई केवल व्यक्तिगत सुरक्षा मात्र नभई राष्ट्रिय आर्थिक विकासको महत्वपूर्ण साधनका रूपमा पनि हेर्नुपर्छ।
म्यादी जीवन बीमाको चर्चा अपेक्षाकृत कम किन हुन्छ ?
नेपालमा अधिकांश ग्राहकले बीमालाई सुरक्षा मात्र नभई बचत र लगानीसँग जोडेर हेर्ने गरेका छन्। त्यसैले बोनस वा परिपक्वतापछि रकम फिर्ता आउने योजनाप्रति आकर्षण बढी छ। म्यादी बीमा शुद्ध सुरक्षा केन्द्रित उत्पादन हो, जसमा ‘म्याचुरिटी बेनिफिट’ हुँदैन। ग्राहकको माग कम भएकाले यसको बिक्री पनि कम देखिएको हो। यद्यपि जोखिम सुरक्षाका दृष्टिले म्यादी बीमा अत्यन्त प्रभावकारी र आवश्यक उत्पादन हो।
अभिकर्ताहरूले म्यादी बीमालाई कम प्राथमिकता दिनुको कारण के हो ?
यसको मुख्य कारण ग्राहकको रुचि हो। अधिकांश ग्राहक बचत र प्रतिफल प्राप्त हुने योजनामा बढी आकर्षित हुन्छन्। अभिकर्ताहरूले पनि बजारमा बढी माग भएका उत्पादनलाई प्राथमिकता दिन्छन्। तथापि, ग्राहकलाई बीमाको वास्तविक आवश्यकता र जोखिम सुरक्षाबारे अझ राम्रोसँग बुझाउन सकियो भने म्यादी बीमाप्रतिको आकर्षण पनि बढ्न सक्छ।















प्रतिक्रिया दिनुहोस्