Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी

धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको छ : प्राडा अधिकारी
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान खेतीको महत्व र खाद्य सुरक्षाको विषय उजागर गर्छ । पछिल्ला केही वर्ष नेपालमा धानको उत्पादन बढे पनि देश आत्मनिर्भर नभएको, जमिन घट्दै गएको, सिंचाइ अभाव, जलवायु परिवर्तन र मलको कमी प्रमुख चुनौती भएको बताउँदै आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

२३ औं राष्ट्रिय धान दिवसको अवसर पारेर नेपाल न्यूज बैंकले धानबाली विज्ञ प्राध्यापक डाक्टर विष्णु विलास अधिकारीले नेपालमा धान उत्पादन बढे पनि देश अझै आत्मनिर्भर बन्न नसकेको बताएका छन् । उनले धान खेतीको क्षेत्रफल घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।

धान नेपालीहरूको प्रमुख खाद्यान्न बाली हो र अहिले अधिकांश नेपालीको भोजन धानमै निर्भर बन्दै गएको छ । विगतमा मकै, गहुँ, कोदो, फापर जस्ता अन्नको प्रयोग बढी हुने गरे पनि अहिले खानपानको बानी परिवर्तनसँगै धानको माग बढेको उनले बताए ।

धानमै विद्यावारिधी समेत गरेका प्राडा अधिकारीले धान खेतीको क्षेत्रफल निरन्तर घटिरहेको जानकारी दिए । उनका अनुसार पहिले करिब १५ लाख हेक्टरमा धान खेती हुने गरेकामा अहिले करिब १४ लाख २० हजार हेक्टरमा मात्र खेती भइरहेको छ । घडेरी, सडक विस्तार, बस्ती विकास तथा जमिन बाँझो बस्ने प्रवृत्तिका कारण खेतीयोग्य जमिन घट्दै गएको उनको भनाइ छ ।

यद्यपि, पछिल्ला वर्षहरुमा धान उत्पादनमा केही सुधार देखिएको उनले बताए । गएको आर्थिक वर्षमा करिब ५९ लाख ६० हजार टन धान उत्पादन भएको र औसत उत्पादकत्व ४।१९ टन प्रतिहेक्टर पुगेको जानकारी उनले दिए । यो अघिल्लो वर्षको तुलनामा वृद्धि भए पनि त्यसको मुख्य कारण पर्याप्त वर्षा र केही क्षेत्रमा सुधारिएको सिंचाइ व्यवस्था रहेको उनले स्पष्ट पारे ।

‘हाम्रो उत्पादन त्यति नराम्रो होइन, तर उत्पादकत्व अझै कम छ,’ उनले भने, ‘नेपालमा सुनिश्चित सिंचाइ सुविधा सीमित भएकाले उत्पादन धेरै हदसम्म मनसुनमा निर्भर छ ।’ उनका अनुसार करिब ३०–३५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ भने बाँकी क्षेत्र वर्षाको भरमा खेती गरिन्छ ।

जलवायु परिवर्तनले धान खेतीमा गम्भीर असर पारिरहेको उनले बताए । समयमा पानी नपर्नु, रोपाइँको बेला सुख्खा पर्नु र काट्ने समयमा अत्यधिक वर्षा हुनुजस्ता समस्याले उत्पादन घटाउने गरेको उनको भनाइ छ । ‘जुन वर्ष मनसुन राम्रो हुन्छ, त्यही वर्ष उत्पादन बढ्छ,’ उनले भने ।’

रासायनिक मल व्यवस्थापनमा पनि नेपाल कमजोर रहेको उनको विश्लेषण छ । नेपालमा मल उद्योग नहुँदा विदेशबाट आयात गर्नुपर्छ र समयमा मल आपुर्ति नहुने समस्या दोहोरिने गरेको उनले बताए । किसानहरू सन्तुलित मल प्रयोगभन्दा युरियामा बढी निर्भर हुँदा माटोको गुणस्तर कमजोर बन्दै गएको उनको भनाइ छ ।

उनले गोठे मल, कम्पोस्ट, हरियो मल र जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिए । ‘माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दै गएको छ । यसलाई सुधार नगरेसम्म दीर्घकालीन उत्पादन वृद्धि सम्भव छैन,’ उनले बताए ।

प्रा।डा। अधिकारीले नेपालले हरेक वर्ष करिब ४५–५० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरिरहेको जानकारी दिए । उत्पादन बढे पनि देश आत्मनिर्भर नभइसकेको उनले बताए । भारतले सुगन्धित धानबाहेक अन्य धान निर्यातमा कडाइ गरेको उल्लेख गर्दै उनले भविष्यमा पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्ने चेतावनी दिए ।

आत्मनिर्भर बन्न सरकारले सिंचाइ विस्तार, मल उद्योग स्थापना, गुणस्तरीय बीउ वितरण र किसान तालिमलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । ‘उन्नत बीउ मात्र प्रयोग गर्दा पनि १५ देखि २५ प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ,’उनले बताए ।

उनले कृषि अनुसन्धान परिषद्, कृषि विभाग र विश्वविद्यालयबीच प्रभावकारी समन्वय अभाव रहेको पनि उल्लेख गरे । किसानहरू कुन निकायमा जाने भन्ने अन्योलमा पर्ने भएकाले सबै निकायले साझा लक्ष्य लिएर काम गर्नुपर्ने उनले बताए ।

प्रा।डा। अधिकारीले युवाहरूलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नुपर्नेमा पनि जोड दिए । ‘देशको कृषि विकास बुढाबुढीले होइन, युवायुवतीले गर्ने हो,’ उनले भने,‘विदेशिएका युवालाई फर्काएर आधुनिक कृषि प्रविधिसहित उत्पादनमा जोड्नुपर्छ ।’

धानमा अत्यधिक निर्भरता घटाउन मकै, गहुँ, कोदो, फापर र चिनोजस्ता वैकल्पिक अन्नको प्रयोग बढाउनुपर्ने उनको सुझाव छ । साथै धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको भन्दै त्यसप्रति पनि सचेत हुनुपर्ने उनले बताए । नेपालमा जुम्ली मार्सी, छुम्रुङजस्ता स्थानीय धानका जातहरू रहेको उल्लेख गर्दै उनले ती जातको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । ‘हामीसँग सुगन्धित, चिसो सहने र सुख्खा सहने धेरै स्थानीय जात छन् । तिनलाई जोगाउँदै उन्नत जातको प्रयोग बढाउन सके उत्पादनमा ठूलो सुधार गर्न सकिन्छ,’ उनले भने ।

हाइब्रिड बीउ, घट्दो माटो उर्वरता र किसानको समस्या प्रमुख चुनौती

धानबाली विज्ञ प्रा।अधिकारीले नेपालमा धान उत्पादन प्रविधि, किसानको अवस्था र कृषि नीतिका चुनौतीबारे गम्भीर प्रश्न उठाएका छन् ।

उनका अनुसार किसानहरू अहिले उच्च उत्पादन दिने वर्णशंकर ९हाइब्रिड० धान जातप्रति आकर्षित भएका छन् । नेपालमा हाइब्रिड विकास कम भएको र अधिकांश बीउ भारत तथा चीनबाट आयात हुने गरेको उनले उल्लेख गरे । ‘यी जातले उत्पादन धेरै दिन्छन्, तर लागत पनि बढी हुन्छ,’ उनले भने ।

हाइब्रिड खेतीको विस्तारसँगै रासायनिक मलमा निर्भरता बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको उनले चेतावनी दिए । गोठे मल, कम्पोस्ट र जैविक मलको प्रयोग घट्दै जाँदा दीर्घकालीन रूपमा माटो कमजोर बन्दै गएको उनको भनाइ छ । यदि यस्तै प्रवृत्ति जारी रहे भविष्यमा कृषि उत्पादनमा संकट आउन सक्ने उनले बताए ।

प्रा।डा। अधिकारीले नेपालमा मुख्यतः वर्षायाम ९मनसुन० धान र चैते धान गरी दुई प्रकारका खेती प्रणाली रहेको बताए । मनसुन धानमा विविध जात प्रयोग गर्न सकिने भए पनि चैते धानका जात सीमित र विशिष्ट उत्पादनका लागि मात्र उपयोगी रहेको उनले स्पष्ट पारे ।

उनले किसानको लागत खर्च बढेपनि उत्पादनको उचित मूल्य नपाएकोमा चिन्ता व्यक्त गरे । सरकारबाट वास्तविक लागत अध्ययन नगरी मूल्य निर्धारण हुने भएकाले किसान मारमा परेको उनको भनाइ छ । ‘किसानको अवस्था बुझेर मूल्य निर्धारण नगरेसम्म उत्पादनमा स्थायित्व आउँदैन,’ उनले बताए ।

कृषि क्षेत्रलाई राज्यले कमजोर रूपमा हेरेको टिप्पणी गर्दै उनले किसानलाई सम्मानजनक पेशा बनाउनु आवश्यक रहेको बताए । विकसित देशहरूमा सानो प्रतिशत किसानले सम्पूर्ण जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउने उदाहरण दिँदै उनले नेपालमा पनि कृषि व्यवसायलाई व्यावसायिक र सम्मानित बनाउनुपर्नेमा जोड दिए ।

उनले स्थानीय धान जात संरक्षण, उन्नत बीउ विकास, सिंचाइ विस्तार र मल व्यवस्थापन सुधारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । साथै, धानसँगै अन्य अन्नबालीको विविधीकरण गरी खाद्य सुरक्षालाई बलियो बनाउनुपर्ने उनले बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit