काठमाडौं । के.एल. दुगड ग्रुपअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्ना डिलरहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरेको ‘युनाइटेड सिमेन्ट्स प्रिमियर लिग’ सम्पन्न भएको छ।
काठमाडौंको पहेँलो पुलस्थित धन्वन्तरी फुटसलमा असार १३ गते आयोजित प्रतियोगितामा उपत्यकाभरका १६ टोलीले सहभागिता जनाएका थिए। टोलीहरूले तीन वर्षे रनिङ ट्रफी, च्याम्पियन ट्रफी तथा नगद पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विकास दुगडले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायिक व्यस्तताबीच शारीरिक स्वास्थ्य र मनोरञ्जनका लागि समय छुट्याउन आवश्यक रहेको बताए। खेलले डिलर र कम्पनीबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले बलियो निर्माणका लागि युनाइटेड सिमेन्ट्स सधैं साझेदारको रूपमा रहने बताए।
प्रतियोगिताको उपाधि गोदावरी टोलीले जितेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको टोलीलाई के.एल. दुगड ग्रुपका भाइस चेयरम्यान नरेश दुगड र म्यानेजिङ डाइरेक्टर कुमुद दुगडले विजेता ट्रफी, तीन वर्षे रनिङ ट्रफी तथा ७० हजार रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरे।
उपविजेता बनेको न्यू पलास टोलीलाई प्रबन्ध निर्देशक विकास दुगड र म्यानेजिङ डाइरेक्टर कुमुद दुगडले ट्रफीसहित ३५ हजार नगद पुरस्कार प्रदान गरेका थिए।
समापन समारोहमा म्यानेजिङ डाइरेक्टर कुमुद दुगडले खेलमा हार–जितभन्दा पनि खेलाडीहरूले प्रदर्शन गरेको भाइचारा, मित्रता र खेलभावना कम्पनीको संस्कृतिसँग मेल खाने उल्लेख गरे। मैदानमा देखिएको एकता र उत्साह आगामी आर्थिक वर्षमा व्यावसायिक सहकार्यमा समेत प्रतिबिम्बित हुने विश्वास उनले व्यक्त गरे।
कम्पनीका अनुसार ‘युनाइटेड सिमेन्ट्स प्रिमियर लिग’ को यो पहिलो संस्करण हो। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण डिलर, सहभागी खेलाडी तथा परिवारजनप्रति कम्पनीले आभार व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्