काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति सस्मित पोखरेलले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले हालै नियुक्त भएका थापालाई शपथ गराएका हुन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
यसै अवसरमा सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन् । उनले पनि हालै नियुक्ती पाएकी थिइन् ।
शपथपछि अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहासलाई कायम राख्दै २१औँ शताब्दीका चुनौती सामना गर्न सक्षम, पारदर्शी र प्रभावकारी सेवा आयोग निर्माणमा आफू समर्पित रहने विश्वास व्यक्त गरे।
शिक्षा मन्त्रालयका अनुसार अध्यक्ष र सदस्य दुवै नियुक्ति त्रिवि सेवा आयोगलाई प्रभावकारी, पारदर्शी तथा योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो।
शिक्षामन्त्री पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका थिए।















प्रतिक्रिया दिनुहोस्