काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली नदीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखिएको बताएका हुन्। असार १८ गते बस कर्णाली नदीमा खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार मागिरहेको अवस्थामा पनि समयमै उद्धार हुन नसकेको उनको आरोप छ।
शाहीका अनुसार एक व्यक्ति भीरमा अड्किएर बाँच्न संघर्ष गरिरहे पनि उद्धार टोली समयमै नपुग्दा उनको ज्यान गएको बताए। उनले दुर्घटनाका बेला आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग गरिएको दाबी गरे।
सांसद शाहीले उद्धार टोलीसँग आवश्यक उपकरणको अभाव रहेको उल्लेख गर्दै सुर्खेतबाट घटनास्थलमा उद्धारका लागि एउटा हेलिकप्टरसमेत पठाउन नसक्नु सरकारको गम्भीर असफलता भएको टिप्पणी गरे। आफूले तत्काल सम्बन्धित निकायमा फोन गरेर उद्धारको पहल गर्न आग्रह गरे पनि प्रभावकारी प्रतिक्रिया नपाएको उनको भनाइ थियो ।
उनले सरकारमाथि कर्णालीप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै कर्णाली पनि नेपालको अभिन्न अंग भएकाले त्यहाँका नागरिकले समान रूपमा राज्यको सेवा र संरक्षण पाउनुपर्ने बताए।















प्रतिक्रिया दिनुहोस्