Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

ऊर्जा र सेवा क्षेत्रको बलमा जीडीपी ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण

ऊर्जा र सेवा क्षेत्रको बलमा जीडीपी ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यो वृद्धि दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादनमा आधारभूत मूल्यमा आधारित तथ्याङ्कले ऊर्जा, बैंकिङ, व्यापार तथा यातायात क्षेत्रको विस्तारले समग्र आर्थिक गतिविधि बढाएको देखाएको छ।

१८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा सकारात्मक वृद्धि देखिएको उल्लेख छ। विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा उच्च २४.८८ प्रतिशतले वृद्धि भएको छ। यस्तै वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार ५.२५ प्रतिशतले विस्तार भएको जनाइएको छ। यसैगरी, अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा मानिएको कृषि क्षेत्र १.५८ प्रतिशतले मात्र वृद्धि भएको छ। औद्योगिक उत्पादन भने ०.५४ प्रतिशतले ऋणात्मक देखिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि १.५९ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले निर्माण सामग्रीको आयातमा कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेकाले समग्र वृद्धिदर अपेक्षाकृत सीमित रहेको जनाएको छ। यद्यपि ऊर्जा उत्पादन, बैंकिङ गतिविधि र सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई सकारात्मक योगदान दिएको तथ्यांकमा उल्लेख छ। कार्यालयका अनुसार दोस्रो त्रैमासमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा तेस्रो त्रैमासमा यो बढेर ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ।

त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कले छोटो अवधिको आर्थिक गतिविधि मूल्याङ्कन गर्न र नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने कार्यालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit