काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न तथा व्यापार सहुलियतलाई निरन्तरता दिन अमेरिकासँग आग्रह गरेकी छिन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग आज भएको शिष्टाचार भेटमा मन्त्री यादवले सन् २०१५ देखि लागू भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएकाले उक्त सुविधा पुनः थप्न आग्रह गरेकी हुन् ।
उनले नेपाल र अमेरिकाबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
भेटका क्रममा मन्त्री यादवले नेपालले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गरिरहेको जानकारी दिँदै थप अमेरिकी लगानी भित्र्याउन सरकार इच्छुक रहेको बताएकी छिन् ।
उनले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रका क्षेत्रमा अमेरिकी लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गरिन्।
भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले व्यापार सहुलियतको निरन्तरता र नेपालमा लगानी प्रवर्द्धनका विषयमा अमेरिका सकारात्मक रहेको धारणा व्यक्त गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्