काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि सरकारले आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका लागि देशका प्रमुख पर्यटकीय स्थलहरूमा बजार विस्तार गर्ने वातावरण तयार गरिने आस्वासन उद्यमीहरुलाई दिएका छन् ।
छलफलमा महासंघका प्रतिनिधिहरूले महिला उद्यमीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण, उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन, व्यापार मेला, प्रदर्शनी, बी–टु–बी (बिजनेस म्याचिङ) कार्यक्रम तथा निर्यात प्रवर्द्धनमा प्राथमिकता दिन माग गरेका थिए। महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन सरकारी सहयोगको आग्रह गरेको थियो। प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई तत्काल बजारमा ल्याउन आवश्यक पहल गर्न सम्बन्धित निकायलाई प्रेरित गर्ने प्रतिबद्धता जनाएको उनको सचिवालयले उल्लेख गरेको छ।
महिला उद्यमी महासंघले आयोजना गर्ने वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको मागसमेत गरेको छ। साथै, सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई सहभागी गराउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा प्राथमिकता दिन र सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा महिला उद्यमीका उत्पादन तथा सेवा खरिदलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ। महासंघका प्रतिनिधिहरूले वास्तविक महिला उद्यमीले वित्तीय सहुलियत पाउन नसकेको गुनासो गर्दै सहुलियत कर्जा गाउँ–गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन र धितो अभावमा उद्यमशीलता रोक्न नदिन वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्।
महिला उद्यमी महासंघलाई सरकारका नीति निर्माण तथा विभिन्न सरकारी संयन्त्रमा सहभागी गराउनुपर्ने माग गर्दै महासंघले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ । बिहीबार महिला उद्यमशीलताको प्रवद्र्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरुको दिगो विकाससम्बन्धमा छलफल भएको थियो ।
महिला उद्यमीका समस्या गम्भीरतापूर्वक सुनेर तत्काल आवश्यक विषयमा पहल सुरु गर्ने आस्वासन पाएपछि महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री शाहप्रति धन्यवाद व्यक्त गरेको छन्। ‘प्रधानमन्त्रीले हामीलाई सुन्नु मात्र भएन उहाँले समस्याको समाधानका लागि तत्काल पहल अघि बढाउनेदेखि आवश्यक सबै किसिमका सहकार्य गर्न तत्परता देखाउनुभयो’, महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले भनिन्, ‘एक्सन ओरिएन्टेट प्रधानमन्त्रीसँगको संवादले महिला उद्यमशीलताको प्रवद्र्धनमा मद्दत हुने हाम्रो विश्वास छ ।’
छलफलमा महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य , महासचिव सविता सुवेदी, सचिव डिकीला लामा तृतीय, उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, उद्यमी तथा सांसद विदुषी राणा लगायत सहभागी थिए।
सरकारको नेतृत्व सम्हालेको पहिलो तीन महिना निजी क्षेत्रप्रति अनुदार जस्तै देखिएका प्रधानमन्त्री शाहले सय दिन कटेलगत्तै निजी क्षेत्रसंग संवाद थालेका थिए । पहिलो दिन नेपाल उद्योग वार्णिज्य महासंघसँग छलफल गरेका बालेनले त्यसपछि नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ तथा पर्यटन र उर्जा क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल गरिसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्