काठमाडौं । साउने संक्रान्ति तथा साउन महिनाको पहिलो दिन शुक्रबार आराध्यदेव पशुपतिनाथ मन्दिरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ भने श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते र मेहेन्दी किन्ने महिलाहरूको चहलपहल पनि बढेको छ।
भगवान शिवको प्रिय महिना मानिने साउनको पहिलो दिन पूजा–आराधना र दर्शनका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू बिहानैदेखि पशुपतिनाथ पुगेका छन्। भक्तजनहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक व्यवस्थापन गरेको जनाएको छ।

सौरमासअनुसार साउन १ गतेलाई साउने (कर्कट) संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यस दिन स्नान, दान तथा भगवान शिवको पूजा–आराधना गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
विशेषगरी महिलाहरूले श्रावण महिनाभर हरियो चुरा, पोते, हरिया पहिरन तथा मेहेन्दी लगाउने परम्परा निर्वाह गर्दै सुख, शान्ति र अटल सौभाग्यको कामना गर्ने गर्दछन्। यही धार्मिक तथा सांस्कृतिक मान्यताका कारण बजारमा हरियो चुरा, पोते र मेहेन्दीको माग बढ्न थालेको व्यापारीहरू बताउँछन्।

श्रावण महिना सुरु भएसँगै राजधानीका विभिन्न बजार क्षेत्रमा महिलाहरू हरियो श्रृंगार सामग्री खरिदमा व्यस्त देखिएका छन्। धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको साउन महिना नेपाली महिलाहरूका लागि विशेष महत्व बोकेको मानिन्छ।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक















प्रतिक्रिया दिनुहोस्