Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

हिमाल संरक्षणमा विश्वको ध्यान खिच्न कञ्चनजङ्घाको फोटो प्रदर्शनीमा (तस्बिरहरु)

हिमाल संरक्षणमा विश्वको ध्यान खिच्न कञ्चनजङ्घाको फोटो प्रदर्शनीमा (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र संरक्षणको आवश्यकतालाई तस्बिरमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘कञ्चनजङ्घा थ्रु द लेन्स’ (क्यामेराको लेन्सबाट कञ्चनजङ्घा) शीर्षकको फोटो प्रदर्शनी सुरु भएको छ। समृद्ध पहाड र युनेस्को काठमाडौंको संयुक्त आयोजनामा प्रदर्शनी सोमबार काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा उद्घाटन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनीले कञ्चनजङ्घा क्षेत्रको असाधारण प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उत्सव मनाउनुका साथै जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली र त्यसमा निर्भर समुदायले भोगिरहेका बढ्दो जोखिमलाई उजागर गरेको छ। प्रदर्शनीको उद्घाटन समारोहमा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, संरक्षण क्षेत्रका अगुवा, विकास साझेदार, फोटोग्राफर, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको हिमाली क्षेत्र र त्यहाँको जीवन्त सम्पदा संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

समारोहमा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटली, बेलायतका राजदूत रोब फेन, डब्लूडब्लूएफ नेपालका देशीय प्रतिनिधि डा। घन गुरुङ, नेपालका लागि युनेस्को प्रतिनिधि जाको डु टोइट तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसीएएमसी) का बोर्ड सदस्य छेतेन शेर्पाले सम्बोधन गरेका थिए। वक्ताहरूले नेपालको हिमाली क्षेत्र र त्यहाँका समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको औँल्याउँदै नेपालको हिमाली मुद्दा तथा कोप–३१ मा नेपालले उठाएका मागप्रति समर्थन जनाएका थिए। जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीमा पारिरहेको असमानुपातिक प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा उचित मान्यता दिलाउनुपर्ने र विश्वव्यापी जलवायु वार्तामा हिमाली राष्ट्रका आवाज तथा प्राथमिकताले पर्याप्त स्थान पाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

यसैगरी, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले विशेष सन्देशमार्फत कञ्चनजङ्घा कुनै भौगोलिक क्षेत्र मात्र नभई नेपालको राष्ट्रिय पहिचान, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको जीवन्त प्रतीक भएको बताएकी छन्। कञ्चनजङ्घाको अनुपम प्राकृतिक सौन्दर्य, हिमनदी, जैविक विविधता, पवित्र तीर्थस्थल तथा विविध सांस्कृतिक सम्पदाको चर्चा गर्दै मन्त्री चौधरीले यस्ता पहलले स्थानीय कला, आस्था, संस्कृति र प्रकृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। यसबाट स्थानीय विकासमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

प्रदर्शनीले कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई युनेस्कोको ‘मानव तथा जैविक विविधता कार्यक्रम’ अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहललाई समेत महत्त्व दिएको छ। उक्त कार्यक्रमअन्तर्गत मान्यता प्राप्त भएमा यस क्षेत्रको जैविक विविधता संरक्षण, वैज्ञानिक अनुसन्धान, दिगो जीविकोपार्जन र समुदायको नेतृत्वमा हुने संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ। साथै, यसबाट कञ्चनजङ्घा क्षेत्रले विश्वव्यापी रूपमा थप पहिचान प्राप्त गर्नेछ।प्रदर्शनीमा एक शताब्दीभन्दा लामो समयको दृश्य अभिलेख समेटिएको छ।

 

सन् १८९९ मा गरिएको आफ्नो आरोहण अभियानका क्रममा प्रसिद्ध इटालियन फोटोग्राफर तथा पर्वतारोही भिटोरियो सेलाले खिचेका दुर्लभ ऐतिहासिक तस्बिरसँगै समकालीन फोटोग्राफरका सिर्जनालाई पनि प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीलाई विभिन्न विषयमा विभाजन गरी कञ्चनजङ्घा क्षेत्रका भव्य प्राकृतिक दृश्य, पर्वतारोहणको इतिहास, जैविक विविधता, आदिवासी ज्ञान, सांस्कृतिक परम्परा र जलवायु परिवर्तनका वास्तविक असरलाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ। यस पहलको अभिन्न अङ्गका रूपमा फोटोग्राफी प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी फोटोग्राफरलाई कञ्चनजङ्घा क्षेत्रका विविध पक्षलाई आफ्नै दृष्टिकोण र दृश्य कथामार्फत प्रस्तुत गर्न आह्वान गरिएको थियो।

प्रतियोगितामा प्राप्त तस्बिरको मूल्याङ्कन नेपाली फोटोग्राफी क्षेत्रका दुई विशिष्ट व्यक्तित्व मणि लामा र लक्ष्मीप्रसाद ङ्याकुसीले निर्णायकका रूपमा गरेका थिए। प्रतियोगिताका विजेतालाई प्रदर्शनी उद्घाटन समारोहमा घोषणा गर्दै सम्मान गरिएको थियो। जसअनुसार गिरिराज बान्सकोटाले पहिलो, फिलिप लिलिएन्थलले दोस्रो र रूपक राज सुनुवारले तेस्रो पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको उद्देश्य उत्कृष्ट फोटोग्राफीलाई सम्मान गर्नुका साथै संरक्षण, सांस्कृतिक अभिलेखीकरण र जनचेतना अभिवृद्धिका लागि दृश्य कथावाचनलाई प्रभावकारी माध्यमका रूपमा प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएको छ।

जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीको भविष्य थप जोखिममा पर्दै गएका बेला ‘कञ्चनजङ्घा थ्रु द लेन्स’ ले नेपालको हिमाली क्षेत्रलाई जलवायु न्याय, संरक्षण र दिगो विकाससम्बन्धी विश्वव्यापी बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ। यो प्रदर्शनी प्राकृतिक सौन्दर्यको उत्सव मात्र नभई हिमाली सम्पदाको भविष्यप्रति सामूहिक जिम्मेवारीबोध गराउने अभियानसमेत हो। प्रदर्शनी आगामी नोभेम्बर ३० (मंसिर १४) सम्म काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा सर्वसाधारणका लागि खुला रहनेछ। प्रदर्शनी अवलोकन गर्न आउनेले कञ्चनजङ्घाको इतिहास, त्यहाँका मानिस, सांस्कृतिक समृद्धि र प्राकृतिक सौन्दर्यलाई तस्बिरमार्फत नजिकबाट बुझ्ने अवसर पाउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit