काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ।
अध्यक्ष ढकालको लगानी रहेको महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आजदेखि पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो। विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजबाट कागज कारखाना समेत आफ्नो पहुँचलाई विस्तार गरेको छ ।
नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ। महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको उद्योगमा सबै नेपाली लगानीकर्ताहरूको लगानी रहेको छ। २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन थालनी भैरहेको छ भने औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको आज उद्घाटन गरे ।
कार्यक्रममा अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए। उनले नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको जानकारी दिँदै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिब ४० प्रतिशत कागज उद्योगले नै उत्पादन गर्ने बताए ।
शैक्षिक संस्थामा आवश्यक पर्ने कापी, किताबदेखि फोटोकपी, ट्वाइलेट तथा टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर हुनुपरेको अवस्थालाई चिर्दै उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी नेपालमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी ढकालको छ ।















प्रतिक्रिया दिनुहोस्