हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।
प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको छ । घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेको बताए। घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा पुगेका छन् । प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको प्रकृति हेर्दा प्रारम्भिक चरणमा हत्या भएको हुनसक्ने प्रहरीको बुझाई छ। यद्यपी, वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे थप अनुुसन्धान पछि आधिकारिक निष्कर्षमा पुग्ने प्रहरीको भनाइ छ।
















प्रतिक्रिया दिनुहोस्