काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय भ्रमण गर्दै नियामकीय गुणस्तर अभिवृद्धि, उच्च नैतिकता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर पूँजी बजार विकासका काम अघि बढाउन निर्देशन दिएका छन्।
साउन ११ गते आयोजित कार्यक्रममा अर्थ सचिव डा। घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालयका उच्च अधिकारी, बोर्ड सञ्चालक समितिका सदस्य तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो। बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले अर्थमन्त्री तथा उपस्थित विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै पूँजी बजार सुधारका लागि बोर्डले अघि बढाएका प्रमुख कार्यक्रमबारे जानकारी गराएका थिए।
अध्यक्ष भट्टका अनुसार पूँजी बजारको दीर्घकालीन विकासका लागि क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट लागू गर्ने प्रक्रिया अघि बढिसकेको छ भने आर्थिक वर्ष २०८३-८४ को पूँजी बजार नीति तथा कार्ययोजनाको कार्यान्वयन पनि सुरु भइसकेको छ।
बोर्डले साउन महिनाभित्र प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), अन्तरदिवसीय कारोबार, मार्जिन कर्जा, सर्ट सेलिङलगायतका विषयमा परामर्शपत्र, नियम तथा निर्देशिका तयार गर्ने र प्राप्त सुझावका आधारमा भदौ महिनादेखि सरोकारवालासँग छलफल गरी आवश्यक नीतिगत तथा कानुनी परिमार्जन अघि बढाउने योजना रहेको जानकारी दिइएको थियो।
त्यसैगरी, पूँजी बजार विकासमा देखिएका चुनौती समाधान, प्रभावकारी नीति कार्यान्वयन तथा कर्मचारीको कार्य उत्प्रेरणा अभिवृद्धिका लागि अर्थ मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन पनि बोर्डले आग्रह गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नियामकीय गुणस्तर सुधार गर्दै सेबोनलाई सक्षम, विश्वासिलो र उच्च नैतिक मापदण्ड पालना गर्ने नियामक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। नयाँ नेतृत्वसँगै बोर्डले दीर्घकालीन रणनीति लिएर काम अघि बढाएको र त्यसले बजारमा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै सुधारका प्रयासलाई निरन्तरता दिन निर्देशन दिए।
उनले नेपाल राष्ट्र बैंकजस्तै वित्तीय प्रणालीमा सेबोनको पनि सशक्त भूमिका रहेको उल्लेख गर्दै सोही स्तरको संस्थागत क्षमता विकास गर्नुपर्ने बताए। पछिल्ला वर्षमा डिम्याट खाताको संख्या बढेसँगै लगानीकर्ताको अपेक्षा पनि उल्लेखनीय रूपमा बढेकाले सोहीअनुसार संस्थागत क्षमता विस्तार र सेवा प्रवाह सुधार गर्न आवश्यक रहेको धारणा राखे।
अर्थमन्त्रीले नीति निर्माण गर्दा राजनीतिक–आर्थिक (पोलिटिकल इकोनोमी) पक्षलाई समेत ध्यानमा राखी सम्बन्धित सरोकारवालासँग पर्याप्त परामर्शपछि मात्र कार्यान्वयनमा लैजानुपर्ने बताए।
यसले पूँजी बजारको दिगो विकास, पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले नयाँ सरकार र नयाँ नेतृत्वसँगै सेबोनको कार्यशैलीमा सकारात्मक परिवर्तन देखिएको सन्देश लगानीकर्तामाझ पुगेको उल्लेख गर्दै नियामकीय तथा कानुनी सुधारका लागि नेपाल सरकारबाट आवश्यक सबै प्रकारको सहजीकरण उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।
















प्रतिक्रिया दिनुहोस्