गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौं लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिएपनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन् । ती कतिपय विमानस्थल सञ्चालनमा नआउँदै जीर्णमा पुगेका छन् भने बनेका संरचनाको उचित संरक्षण र रेखदेखको पर्खाइमा रहेको पाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशका चार विमानस्थल बन्द अवस्थामा छन् । बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ ।
सरकारले बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएपनि त्यसले पनि सार्थकता पाउन सकेको छैन । प्राधिकरणले पाँच वर्षअघि रु आठ करोड २४ लाख खर्चेर बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो ।
विसं २०२२ मा बनेको उक्त विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा आएर बन्द भएको थियो । २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा फेरि पनि निरन्तरता पाउन सकेन । केही समय नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गरेका थिए ।
उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार ब्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।
प्राधिकरणले विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो ।
धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवलोकन गरेपछि उक्त अध्ययन समूहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको औँल्याएको थियो । नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थलको वैकल्पिक प्रयोग गर्ने विषयमा चर्चा चलेपनि कुनै ठोस योजना बन्न नसकेको बताए।
‘विमानस्थल सञ्चालन गर्ने वा वैकल्पिक प्रयोग गर्ने भन्ने विषयमा सङ्घ सरकारको ठोस निर्णय र योजना चाहिन्छ, यसमा आवश्यक समन्वय र सहजीकरण गर्न नगरपालिका सँधै तयार छ, उनले धभने , ‘राज्यको लगानी खेर जान दिनुहुँदैन, कुनै न कुनै रुपमा विमानस्थललाई उपयोगमा ल्याउनुपर्छ ।’
नियमित उडानको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकस्तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् ।
बागलुण्ङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले कालोपत्र भइरहेको छ । उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको पनि डेढ दशक बित्न लाग्यो । प्राधिकरणले विसं २०६९ मा रु नौ करोड खर्चेर हुम्डेमा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले सो विमानस्थलमा परीक्षण उडान गरेको थियो ।
परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासीमा अहिले त्यो उत्साह पाइदैन । गाउँपालिकाका अध्यक्ष कान्छा घलेले विमानस्थल सञ्चालनमा पहल गरिएपनि वायुसेवा कम्पनीले रुचि नदेखाएको बताए ।
विमान कम्पनीलाई उडानमा आकर्षित गर्न गाउँपालिकाले पनि केही बजेट विनियोजन गर्दै आएको थियो, यस वर्षदेखि हामीले बजेट पनि राख्न छोड्यौं’, उनले भने , ‘विमानस्थल अलपत्र अवस्थामा छ, राज्यका निकायले यसमा कुनै चासो दिएका छैनन् ।’
विसं २०३९ देखि विसं २०६८ सम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यसयता बन्द अवस्थामा रहेको अध्यक्ष घलेले बताए ।
यसबीच धावनमार्ग कालोपत्रदेखि अन्य पूर्वाधारमा लगानी गरिएपनि त्यो त्यसै खेर गएको छ । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवातजावात गर्ने गर्थे । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेपछि विमानस्थल बन्द भएको थियो ।
गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सरकारको योजना अलपत्र परेको बताए ।
पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र या अन्य कुनै वैकल्पिक प्रयोगमा ल्याउनु उपयुक्त हुने उहाँको भनाइ छ । काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेकाले यस क्षेत्रमा सडक यातायात सेवा नै बढी प्रभावकारी हुने देखिएको उनले बताए । मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइसकेको छ । काठमाडौँ–मुग्लिन सडक स्तरोन्नतिको चरणमा छ ।
विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द छ । पृथ्वी राजमार्ग बनेपछि उक्त विमानस्थल बन्द भएको थियो । विमानस्थलको धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौं लगानी गरेपनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकामा रहेको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ ।
विमानस्थलको धावनमार्ग गौचरणमा फेरिएको छ । विमानस्थल क्षेत्रलाई घेराबार गरेर सुरक्षित भने गरिएको छ । प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दस करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ ।
सडक नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल अहिले प्रयोगविहीन अवस्थामा छन् ।















प्रतिक्रिया दिनुहोस्