काठमाडौं। सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।
सीईओ छनोटका लागि गठित सिफारिस समितिले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा कार्यालय समयभित्र आवेदन पेश गर्न आग्रह गरेको हो।
सूचनाअनुसार अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि, चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ।
यसका साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको अनुभवसहित कुल १५ वर्षको कार्य अनुभव भएको नेपाली नागरिकले मात्रै आवेदन दिन सक्नेछन्।
आवेदक नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ तथा अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) ले तोकेका योग्यतासम्बन्धी मापदण्ड पूरा गरेको र अयोग्यताको अवस्थाबाट मुक्त हुनुपर्ने सूचनामा उल्लेख छ। उमेरको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनसँगै नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा आफ्नो व्यावसायिक कार्ययोजना तीन प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ। खामको बाहिर आवेदकको नाम र नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजन उल्लेख गरी हस्ताक्षर गरिएको हुनुपर्नेछ।
आवेदन दर्ताका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको सिफारिस समितिले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्