काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिने भएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले १० गते संसदमा उपस्थित भई सांसदहरुको प्रश्नको जवाफ दिने जानकारी गराएका हुन् ।
उनले सांसदहरुलाई प्रधानमन्त्रीलाई सोध्न चाहेको प्रश्नको जवाफ माग गर्नका लागि भदौ पाँच गते १ बजेभित्र संघीय संसद सचिवालयमा प्रश्न टिपाउन समेत आग्रह गरेका छन् । त्यसअघि आजै सभामुखले प्रधानमन्त्री वालेनलाई प्रतिनिधिसभा नियमावलीको नियम ५६ को व्यवस्था अनुसार सदनमा उपस्थित हुन रुलिङ गरेका थिए । उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएसँगै ७७ दिनदेखिको संसदमा विपक्षीको अवरोधमा ब्रेक लागेको थियो ।
वालेनले प्रधानमन्त्री भएपछि सदनलाई वेवास्ता गर्दै आएका छन्। प्रतिपक्षी र विपक्षी दलले बारम्बार प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गर्दै सदनमा विरोध गरे पनि प्रधानमन्त्रीले माग सम्बोधन गरेका थिएनन् । प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीले महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ।
प्रधानमन्त्री शाहले २०८३ जेठ १७ गते आकस्मिक रूपमा सांसदहरूलाई प्रश्न सोध्न लगाउँदै केही प्रश्नको जवाफ दिएका थिए। तर, उक्त प्रश्नोत्तर प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसारको प्रक्रियाअनुरूप भने भएको थिएन। सोही दिन प्रधानमन्त्रीले नेपालले पनि भारतीय भूमि मिचेको रहेछ भनि दिएको अभिव्यक्तिको चर्को विरोध भैरहेको थियो । विपक्षीले उक्त प्रधानमन्त्रीलाई बारम्बार अभिव्यक्ति सदनबाट सच्चाउन माग गर्दै आएका थिए ।
















प्रतिक्रिया दिनुहोस्