काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बर र एनआरएनएबीचको सहकार्यलाई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई नेपालको आर्थिक विकाससँग जोड्ने महत्वपूर्ण पहलका रूपमा लिनुपर्ने बताए।

उनले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र आर्थिक सम्भावना हुँदाहुँदै पनि त्यसअनुसारको विकास हुन नसकेको उल्लेख गर्दै नेपालको आर्थिक समृद्धिका लागि नीति निर्माणभन्दा त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेको बताए। अग्रवालले कानुनी सुधार मात्रै गरेर लगानीको वातावरण बन्न नसक्ने धारणा राखे। संसद्बाट कानुन निर्माण भए पनि नियमावली र कार्यविधिका नाममा कार्यान्वयनमा जटिलता थपिने गरेको उनको भनाइ थियो। ‘कानुनी सुधार मात्रै भएर भएन, यसको एक्जिक्युसनमा पनि सुधार हुनुपर्छ । कानुन एकातिर र नियमावली अर्कोतिर जाने अवस्था अन्त्य गर्नुपर्छ,’ उनले भने। चेम्बर र एनआरएनएबीच भएको सम्झौतालाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने एनआरएनएको मूल भावना र नेपालको आर्थिक समृद्धिको साझा लक्ष्यलाई व्यवहारमा उतार्ने माध्यम बनाउनुपर्ने अग्रवालले बताए। विश्वभर रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले उल्लेख गरे।

उनका अनुसार चेम्बर र एनआरएनएबीचको सहकार्यबाट लगानी प्रवद्र्धन, व्यापार विस्तार, निर्यात वृद्धि, पर्यटन विकास र उद्यमशीलता प्रवद्र्धनमा नयाँ अवसर सिर्जना गर्न सकिन्छ। विदेशमा रहेका नेपालीलाई नेपालको विश्वसनीय आर्थिक साझेदार तथा लगानीकर्ताका रूपमा आकर्षित गर्न संयुक्त पहल आवश्यक रहेको उनले बताए। भारतको उदाहरण दिँदै अग्रवालले गैरआवासीय भारतीय (एनआरआई) र भारतमै रहेका लगानीकर्ताबीच लगानीका क्षेत्रमा हुने विभेद कम रहेको उल्लेख गरे।
‘भारतमा एनआरआईले ठूलो लगानी गरेका छन्। व्यापारिक क्षेत्रमा त्यो एनआरआईको लगानी हो कि त्यहाँ बस्ने रेसिडेन्ट इन्डियनको लगानी हो भन्ने छुट्याइँदैन । नेपालमा मात्रै किन यस प्रकारको विभेद हुने, यसलाई नयाँ परिप्रेक्ष्यमा अगाडि बढाउनुपर्छ,’ उनले भने।

अग्रवालले नेपाली व्यवसायी र विश्वभर रहेका गैरआवासीय नेपालीबीच बिजनेस–टु–बिजनेस (बीटुबी) नेटवर्किङ तथा व्यावसायिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए। नेपाली डायस्पोराको विश्वव्यापी सञ्जाललाई नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्डिङ तथा निर्यात प्रवद्र्धनमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘नेपालमा लगानी, विश्व बजार’ भन्ने अवधारणालाई चेम्बर र एनआरएनएको सहकार्यबाट प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनले बताए।
चेम्बर र एनआरएनएबीच भएको समझदारी कागजमा मात्र सीमित हुन नहुनेमा पनि अग्रवालले जोड दिए। सम्झौतामा उल्लेखित विषय कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, समयसीमा र परिणाममुखी कार्यक्रम आवश्यक रहेको उनले बताए। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.हेमराज शर्माले नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच भएको सम्झौतालाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। ‘नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच एमओयू हुन २३ वर्ष लागेछ । त्यसमा पनि बिजनेस क्षेत्रभन्दा बाहिरबाट अध्यक्ष भएको समयमा यो एमओयू हुन लागेकोले मेरो लागि यो ऐतिहासिक क्षण बनेको छ,’ उनले भने।

अध्यक्ष शर्माले भूगोल र कानुनी सीमाभन्दा माथि उठेर विश्वभर रहेका नेपालीलाई नेपालसँग जोड्नुपर्ने बताए। विदेशमा बसोबास गरे पनि नेपालीको पहिचान र नेपालसँगको सम्बन्धलाई आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो। ‘भूगोल र कानुनलाई हटाइदिने हो भने हामी जहाँ बसेपनि नेपाली नै हौँ। गैरआवासीय नेपाली भन्नै परेन । कानुन वा अरू हिसाबले गैरआवासीय भए पनि नेपाली नै हौँ भन्ने भावनालाई लिएर जानुपर्छ,’ उनले भने। विश्वका विभिन्न देशमा रहेका नेपालीलाई नेपालको आर्थिक विकाससँग जोड्न सके मुलुकले ठूलो आर्थिक लाभ लिन सक्ने शर्माले बताए। उनका अनुसार एनआरएनए ११० भन्दा बढी देशमा फैलिएको छ भने ९२ देशमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रहेका छन्। विदेशमा रहेका नेपाली समुदायको आकार र त्यहाँको युवाको जनसंख्या नेपालभित्रको भन्दा पनि ठूलो रहेको उल्लेख गर्दै उनले त्यसलाई नेपालको आर्थिक विकासमा उपयोग गर्नुपर्ने बताए। विश्वभर रहेका नेपाली व्यवसायी र लगानीकर्तालाई एउटै नेटवर्कमा जोड्ने उद्देश्यले एनआरएनएले छुट्टै व्यापार विभाग निर्माण गरेको जानकारी पनि शर्माले दिए।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन चेम्बरको सहयोग आवश्यक रहेको उनले बताए। विदेशबाट नेपाल आउँदा नेपालीले सरकारी प्रक्रिया र कार्यालयीय काममा असहजता महसुस गर्ने गरेको उल्लेख गर्दै शर्माले चेम्बरले लगानीकर्तालाई सहजीकरण गर्नुपर्ने धारणा राखे।विदेशमा रहेका नेपालीको औसत उमेर करिब ५० वर्षको हाराहारीमा पुगेको भन्दै शर्माले दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न विशेष पहल आवश्यक रहेको बताए।
एनआरएनएले १० अर्ब रुपैयाँको सामूहिक लगानीको परियोजना अघि बढाइरहेको जानकारी दिँदै उनले उक्त परियोजनाका लागि ८५ प्रतिशत रकम आईपीओमार्फत जुटाउने योजना रहेको बताए। सरकारले ५ प्रतिशत लगानी गर्ने विषयमा समेत पहल भइरहेको उनले जानकारी दिए। सामूहिक लगानीको यस्तो परियोजना सफल भए भविष्यमा अर्ब मात्र नभई खर्ब रुपैयाँसम्मको नेपाली पुँजी नेपालमा भित्र्याउन सकिने विश्वास शर्माले व्यक्त गरे।
एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीचको सहकार्यले विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप तथा व्यावसायिक नेटवर्कलाई नेपालको आर्थिक विकाससँग जोड्न महत्वपूर्ण आधार तयार गर्ने उनको भनाइ थियो।
















प्रतिक्रिया दिनुहोस्