काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएको जनाएको छ।
एसोसिएसनका अनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आफ्ना सदस्यहरूलाई गरिएको आह्वानपछि नगद तथा जिन्सी गरी ५० लाख रुपैयाँभन्दा बढीको सहयोग जुटाइएको हो।
भदौ १० गते बिहान रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एसोसिएसनले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
देश शोकमा रहेका बेला बाढी प्रभावित क्षेत्रमा कोही पनि खाली खुट्टा हिँड्न नपरोस् भन्ने उद्देश्यले सदस्यहरूबाट संकलित जुत्ता–चप्पल राहतस्वरूप सम्बन्धित सरकारी निकायलाई उपलब्ध गराइएको एसोसिएसनले जनाएको छ।
हालसम्म १५ हजार जोर जुत्ता–चप्पल सरकारी निकायमार्फत प्रभावित क्षेत्रका लागि हस्तान्तरण गरिसकिएको एसोसिएसनका महासचिव निर्मल भट्टराईले जानकारी दिएका छन्।
सरकारी संयन्त्रबाट कुन क्षेत्रमा कति जोर जुत्ता–चप्पल आवश्यक छ भन्ने विवरण उपलब्ध भएमा सोहीअनुसार थप राहत सामग्री उपलब्ध गराउन एसोसिएसन तयारी अवस्थामा रहेको उनले बताए।
एसोसिएसनले प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्