काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको पुँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। भदौ ३० गतेसम्म सरकारले वार्षिक पुँजीगत बजेटको १.६८ प्रतिशत मात्रै खर्च गरेको छ।
यस्तै, सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा भदौ ३० गतेसम्म ७ अर्ब २६ करोड ६४ लाख रुपैयाँ पुँजीगत (विकास) खर्च गरेको छ। यो कुल पुँजीगत बजेटको करिब १.६८ प्रतिशत हो। आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च ५ अर्ब २१ करोड ७९ लाख रुपैयाँ रहेको थियो। यस हिसाबले चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामा पुँजीगत खर्च गत वर्षभन्दा करिब २ अर्ब ५ करोड रुपैयाँ बढी भएको देखिन्छ। भोटेकोशी बाढीले निम्त्याएको विनाशका कारण पनि दुई महिनामा विकास खर्च बढेको आकलन छ ।
चालू खर्च ९ प्रतिशत नाघ्यो
पुँजीगत खर्चको तुलनामा चालू खर्च उच्च गतिमा भएको छ। सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा भदौ ३० गतेसम्म १ खर्ब १४ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ। यो वार्षिक लक्ष्यको करिब ९.०२ प्रतिशत हो। यसले सरकारको विकास तथा उत्पादनमूलक खर्चको तुलनामा प्रशासनिक, तलब–भत्ता, सामाजिक सुरक्षा लगायतका चालू प्रकृतिका खर्च धेरै गरेको देखाउँछ।
वित्तीय व्यवस्थामा १६.५९ प्रतिशत खर्च
सरकारी बजेटको वित्तीय व्यवस्थातर्फ भने खर्चको प्रगति तुलनात्मक रूपमा उच्च देखिएको छ। चालू आर्थिक वर्षका लागि वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ ३० गतेसम्म ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको उल्लेख छ। यो वार्षिक विनियोजनको १६.५९ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अवधिमा वित्तीय व्यवस्थातर्फ ५९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ खर्च भएको थियो। यस शीर्षकमा ऋणको साँवा–ब्याज भुक्तानी तथा सरकारी लगानीलगायतका खर्च समावेश हुन्छन्।
राजस्व संकलनमा सुधार
सरकारको प्राप्तितर्फ भने चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामा राजस्व संकलन तथा वैदेशिक अनुदानमा सुधार देखिएको छ। भदौ ३० गतेसम्म सरकारले कुल १ खर्ब ८४ अर्ब ४२ करोड ६७ लाख रुपैयाँ स्रोत संकलन गरेको छ। यो वार्षिक लक्ष्यको करिब ११.२ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अवधिमा कुल स्रोत संकलन करिब १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो। वैदेशिक अनुदान प्राप्तिमा पनि सुधार देखिएको छ। चालू आर्थिक वर्षमा सरकारले ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा भदौ ३० गतेसम्म ५ अर्ब २५ करोड २६ लाख रुपैयाँ प्राप्त भएको महालेखाको दैनिक प्राप्ति विवरणमा उल्लेख छ।
यो वार्षिक लक्ष्यको ८.५१ प्रतिशत हो। गत वर्षको सोही अवधिमा वैदेशिक अनुदान प्राप्ति १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ थियो। त्यस्तै, सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। भदौ ३० गतेसम्म १ खर्ब ७७ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको ११.२४ प्रतिशत हो।















प्रतिक्रिया दिनुहोस्