काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सरकारले अघि सारेका पुँजीबजार विकास, विस्तार तथा सुधारसम्बन्धी नयाँ कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन भए लगानीको वातावरण सुधार हुनुका साथै अर्थतन्त्र चलायमान हुने बताएको छ।
महासंघले प्रस्तावित व्यवस्थाले पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, लगानीमैत्री र चलायमान बनाउन सहयोग पुग्ने जनाएको छ। पुँजीबजारको दायरा विस्तार र सुदृढीकरणले उद्योग–व्यवसायका लागि आवश्यक दीर्घकालीन पुँजी जुटाउन सहज हुनुका साथै लगानीकर्ताको मनोबल बढाउने महासंघको धारणा छ। महासंघले आईपीओमा बुक–बिल्डिङ प्रणालीको प्रभावकारी कार्यान्वयन, संस्थागत लगानीकर्ताको पुँजी सन्तुलन, नयाँ लगानी औजारको विकास, धितोपत्र व्यवसाय तथा नियामकीय ढाँचामा सुधार र स्टक एक्सचेन्जको पुनर्संरचनालाई स्वागतयोग्य र दूरगामी महत्वका कदमका रूपमा लिएको छ।
त्यस्तै, अन्तरदिवसीय कारोबार, मार्जिन कारोबार, धितोपत्र सापटी दिने–लिने व्यवस्था, संस्थागत लगानीकर्ताका लागि स्पष्ट लगानी नीति, सीडीएसको क्षमता अभिवृद्धि तथा संस्थागत ऋणपत्र बजारको विकासले पूँजीबजारको गहिराइ र तरलता बढाउने महासंघको विश्वास छ। महासंघका अनुसार गैरआवासीय नेपालीलाई पुँजीबजारमा लगानी गर्न सहजीकरण गर्ने, निजी इक्विटी तथा भेन्चर क्यापिटललाई व्यवस्थित गर्ने, स्टार्टअप तथा नवप्रवर्तनमा पुँजी परिचालन गर्ने र साना लगानीकर्ताको पहुँच विस्तार गर्ने व्यवस्थाले लगानीका नयाँ अवसर सिर्जना गर्नेछ। महासंघले भनेको छ, ‘पुँजीबजारलाई अझ दिगो रूपमा सञ्चालन गर्न महासंघसँग सहकार्य गर्दै अगाडि बढ्दा सबैलाई फाइदा हुन्छ। नयाँ व्यवस्था लागू गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यान दिन आवश्यक छ।’
यसैगरी, महासंघले आयोजना र आवश्यकताअनुसार ऋणपत्र जारी गर्न पाउने व्यवस्था, शेयर धितो कर्जामा सहजीकरण तथा ट्रेजरी बिल र विकास ऋणपत्रको कारोबारलाई प्रभावकारी बनाउने व्यवस्थाले दीर्घकालीन वित्तीय स्रोत विस्तारमा सहयोग पुग्ने जनाएको छ।
लाभकरसम्बन्धी व्यवस्था सकारात्मक
कार्ययोजनामा उल्लेखित लाभकर कटौती तथा पुँजीगत लाभमा भएको नोक्सानी समायोजन गरेपछि मात्र अन्तिम लाभकर लाग्ने व्यवस्थालाई महासंघले सकारात्मक भनेको छ। उक्त व्यवस्था मन्त्रिपरिषद्बाट समेत पारित भइसकेकाले यसले लगानी प्रोत्साहन र पुँजीबजारको स्थायित्वमा सहयोग पुग्ने महासंघको ठहर छ।
सूचीकृत नभएका कम्पनीको शेयर बिक्रीमा कर दर मिलाउन सुझाव
महासंघले पुँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन केही विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएको छ। महासंघले सूचीकृत नभएका कम्पनीको शेयर निसर्गबाट हुने लाभमा लाग्ने १० प्रतिशत करलाई सूचीकृत धितोपत्र निसर्गबाट हुने लाभमा लाग्ने करको दरसँग सामञ्जस्य कायम गर्न सुझाव दिएको छ। त्यस्तै, धितोपत्र कारोबार गर्ने लगानी कम्पनीका लागि करको दर १५ प्रतिशत कायम गर्न सके संस्थागत लगानी प्रवर्धन हुनुका साथै बजारको गहिराइ र तरलता विस्तारमा सहयोग पुग्ने महासंघको भनाइ छ।
शेयर बिक्रीको आसय खुलासालाई व्यावहारिक बनाउन सुझाव
यस्तै, महासंघले केही समयअघिदेखि लागू गरिएको शेयर बिक्रीको आसय सम्बन्धी खुलासा व्यवस्थालाई थप स्पष्ट, व्यावहारिक र अन्तर्राष्ट्रिय अभ्याससँग सामञ्जस्य हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको छ। महासंघले सूचीकृत कम्पनीका रणनीतिक साझेदार वा मुख्य प्रवद्र्धकले शेयर बिक्री गर्दा पूर्वखुलासाको व्यवस्था गर्न पनि सुझाव दिएको छ। साथै, ‘अफर फर सेल’को माध्यमबाट नियमित कारोबार प्रणालीभन्दा बाहेकको प्रणालीमा कारोबार अभिलेख गर्ने व्यवस्था उपयुक्त हुने महासंघको धारणा छ।
व्यवसायमा असंलग्न शेयरधनीको हकमा ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीको स्वामित्वमा १ प्रतिशतभन्दा बढी परिवर्तन भएमा त्यससम्बन्धी जानकारी बजार खुल्नुअघि धितोपत्र बजारलाई उपलब्ध गराउने व्यवस्था गर्न पनि महासंघले सुझाएको छ। महासंघका अनुसार यस्तो व्यवस्थाले पारदर्शिता, लगानीकर्ताको सूचनाको अधिकार र पुँजीबजारप्रतिको विश्वास बढाउन सहयोग गर्नेछ। महासंघले नयाँ पुँजीबजारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नियामक निकाय, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र व्यवसायी, संस्थागत लगानीकर्ता, निजी क्षेत्र तथा लगानीकर्ताबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि औँल्याएको छ।
सरकारले अघि सारेका पुँजीबजार सुधारका प्रयासलाई स्वागत गर्दै महासंघले यस्ता सुधारबाट लगानीकर्ताको विश्वास बढ्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र उद्योग–व्यवसायका लागि दीर्घकालीन पुँजी परिचालन सहज हुने अपेक्षा गरेको छ।














प्रतिक्रिया दिनुहोस्