काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको छ।
बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङ्गमा नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको जनाएको हो।
नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको अगाडिको भागमा सगरमाथा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ भने पानी छापमुनि ‘५०’ अंकित गरिएको छ। नोटको तल्लो भागमा ‘वि.सं.२०८२’ सिरिज उल्लेख गरिएको छ।
नोटको सुरक्षाका लागि १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षण धागो प्रयोग गरिएको विभागले जनाएको छ। उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘एनआरबी’ लेखिएको छ। नोटको पृष्ठ भागको मध्य खण्डमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। तल्लो भागमा ‘रुपिज फिफ्टी’ र ‘२०२५ एडी’ सिरिज उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ का नोट चलनचल्तीमा ल्याउने सूचना जारी गरिएकोमा संकेत नं. ८९ज ०००००१ देखि ३३ ट ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याउने भनिएकोमा संकेत नं ८९ज ०००००१ देखि २३ ट ९००००० सम्म प्रचलनमा ल्याइएको थियो । नयाँ नोटको संकेत नं. २४ट ०००००१ देखि ण ७० ९९९९९९ सम्म रहनेछ।















प्रतिक्रिया दिनुहोस्