काठमाडौं। काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मत तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन्।
एपमार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया तथा अवस्थाबारे नागरिकले प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत नै प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ। हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजनले जनाएको छ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको एपलाई क्रमशः देशभर विस्तार गर्ने तयारी गरिएको जनाइएको छ। सडक डिभिजन काठमाडौंका अनुसार आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेत एपमा समावेश गरी सेवा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।















प्रतिक्रिया दिनुहोस्