Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, किसानदेखि व्यवसायीसम्मका समस्या सुन्न गाउँ जाने

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, किसानदेखि व्यवसायीसम्मका समस्या सुन्न गाउँ जाने
विज्ञापन
Advertisement

काठमाडौं । महँगी, बेरोजगारी, आर्थिक असुरक्षा र जनजीविकासँग जोडिएका समस्या बढिरहेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीले अभियानको औपचारिक उद्घाटन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अभियान उद्घाटन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको बताएका छन्। उनले जारी गरेको अपिलमा महँगीका कारण जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेको उल्लेख छ। ‘महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ। किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्,’ प्रचण्डले अपिलमा भनेका छन् ।

उनले ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको पनि बताएका छन्। आर्थिक तथा सामाजिक समस्याबारे जनतासँग प्रत्यक्ष संवाद गर्दै समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ । नेकपाले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमार्फत पार्टी संगठन विस्तार र सुदृढीकरणका साथै राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकासम्बन्धी समस्या समाधान तथा पार्टी रूपान्तरणलाई प्राथमिकता दिइने अपिलमा उल्लेख छ ।

महँगी, बेरोजगारी र आर्थिक असुरक्षाबारे जनतासँग संवाद गरिने

नेकपाले अभियानका क्रममा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गर्ने जनाएको छ । पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, श्रमिक, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने अपिलमा उल्लेख छ । जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने मात्र नभई तिनलाई स्थानीय, प्रदेश तथा सङ्घीय तहका सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने पार्टीको भनाइ छ । आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने, जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे जानकारी दिने अभ्याससमेत अघि बढाइने जनाइएको छ ।

अपिलमा भनिएको छ, ‘हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो ।’ उत्पादन र रोजगारीमार्फत आत्मनिर्भर अर्थतन्त्रमा जोड नेकपाले जनताका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव हुने धारणा पनि सार्वजनिक गरेको छ। आर्थिक असमानता र शोषण अन्त्य गर्ने, श्रमको सम्मान स्थापित गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्य समाजवादको अवधारणासँग जोडिएको अपिलमा उल्लेख छ ।

राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन उत्पादन वृद्धि, राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिनुपर्ने पार्टीको भनाइ छ । त्यस्तै, आर्थिक परनिर्भरता घटाउँदै राष्ट्रिय उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बलियो बनाउनुका साथै राष्ट्रिय हितअनुसार स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सबै मित्रराष्ट्रसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्ने पनि पार्टीले जनाएको छ ।

पार्टी रूपान्तरण र जनतासँगको सम्बन्ध सुधार्ने प्रतिबद्धता

नेकपाले आफ्नो आधार मानिएका किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको स्वीकार गरेको छ । जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको भन्दै पार्टीले आफ्ना विगतका काम, गल्ती र कमजोरीको समीक्षा गर्दै जनताको विश्वास बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । अभियानसँगै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गरिने अपिलमा उल्लेख छ । पार्टी तथा जनसंगठनका बैठक, भेला, प्रशिक्षण र अन्य कार्यक्रममार्फत संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालन गर्ने पनि जनाइएको छ । ‘जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौँ,’ अपिलमा भनिएको छ।

लोकतन्त्र, नागरिक अधिकार र विपद् व्यवस्थापनबारे पनि चासो

आर्थिक मुद्दासँगै नेकपाले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका विषयलाई पनि अभियानको प्राथमिकतामा राखेको छ। फरक मतप्रति असहिष्णु व्यवहार, बोल्ने तथा प्रश्न गर्ने स्वतन्त्रतामाथि रोक लगाउने प्रवृत्ति र लोकतान्त्रिक संस्था तथा नागरिक अधिकारमाथिको हस्तक्षेपप्रति अपिलमा चिन्ता व्यक्त गरिएको छ । त्यस्तै, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यमा देखिएको भनिएको लापरबाहीप्रति पार्टीले आपत्ति जनाएको छ ।

विपद्का समयमा नागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । विपद्बाट प्रभावित नागरिकलाई राहत, विस्थापित परिवारलाई सुरक्षित पुनःस्थापना तथा क्षतिग्रस्त सडक, पुल, खानेपानी, सञ्चार र विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि माग गरिएको छ । महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउँदै उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने नेकपाको अपिलमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit