
माघ ८,काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा कानुनी र व्यवहारिक पक्षमा कुनै असर पर्न नहुने भन्दै महानगर त्यसमा सचेत रहेको बताएकी छन् ।
मंगलबार काठमाडौं महानगरपालिकाले बाल उद्धार कार्यदलका सदस्यहरुका लागि प्रदान गरेको साता दिने तालिमको समापनमा उपप्रमुख डंगोलले बाल उद्धार कार्यदलका सदस्यहरुमा ज्ञान वा सिप अभावका कारण उद्दार कार्यमा त्रुटी नहोस् भन्नेमा आफू सचेत रहेको बताइन् ।
‘काम गर्दाको मनसाय सही हुनुपर्छ, मनसाय मात्र सही भएर पुग्दैन, काम गर्दाको प्रक्रिया पनि पूरा भएको हुनुपर्छ । हामीले काम गर्दा ‘मनसाय’ र ‘प्रक्रिया’लाई सही बनाउनुपर्छ ।’
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी.ले बाल संरक्षणमा महानगरपालिकाले सिकाइ योग्य काम गर्नु पर्नेमा जोड दिदै महानगरले व्यवस्थापनको कार्य विर्सन नमिल्ने धारणा राखे ।
राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत रामबहादुर चन्दले, जोखिमपूर्ण श्रममा भएका बालबालिकासंगै बालबालिकाविरुद्ध हुने हिंसा, वास्तविक सडक बालबालिका, वेवारिसे तथा अपाङ्गता भएका बालबालिका, गैरकानुनी रुपमा ओसारपसारमा परेका बालबालिकाका लगायतकाको संरक्षण गर्नमा महानगरपालिका सक्षम रहेको उल्लेख गरे ।
बाल कल्याण अधिकारी शान्ता पहाडीले महानगरपालिकाले जोखिममा रहेका बालबालिकाको उद्धार गरेपश्चात उनिहरुको जैविक अभिभावक खोजी गर्दा सम्बन्धित स्थानीय तहबाट सहयोग पाउन थालेको अनुभव सुनाइन ।
‘हामीले उद्धार गरेका बालबालिकालाई जैविक मातापिताबाट संरक्षण हुन नसक्ने बताउँदै महानगरपालिकाको अस्थायी संरक्षणका लागि शिफारिस प्राप्त भएका छन्,’ पहाडीले भनिन् ।
गत पुस २८ गते देखि सुरु भएको तालिममा बाल कल्याण अधिकारी, सामाजिक विकास विभाग, शिक्षा विभाग, महानगर प्रहरी बल, कल सेन्टरका प्रतिनिधि, बालबालिका खोजतलास सेवा, बाल हेल्पलाइन १०९८, समाजसेवी, बाल मनोविज्ञ, महानगर बाल अधिकार समितिका सदस्य गरी ३४ जना प्रशिक्षार्थी सहभागीता जनाएका छन् ।
प्रशिक्षणमा बाल अधिकार, बाल संरक्षण, बाल उद्धार कार्यदलको भूमिका, घटना व्यवस्थापन र त्यसमा उपसमितिको भूमिका, बाल उद्धार आचारसंहितालगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले उपप्रमुखको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन गरेको छ । सोही समितिअन्तर्गत वडा सदस्य रसला तण्डुकारको संयोजकत्वमा बाल उद्धार कार्यदल र वडा सदस्य सृष्टि कंसाकारको संयोजकत्वमा घटना व्यवस्थापन उपसमिति समेत गठन भएको महानगरले जनाएको छ ।
महानगरको बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि, २०८०अनुसार महानगरपालिका क्षेत्रभित्र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार गर्न र उद्धार गरिएका बालबालिकाको अस्थायी संरक्षणलगायतका कार्यमा सघाउन बाल उद्धार कार्यदल गठन गर्न सक्ने व्यवस्था अनुसार कार्यदल बनाई सात दिने प्रशिक्षण प्रदान गरेको हो ।
कार्यदलले विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान गर्ने, खोजी गर्ने, सूचना दिने, उद्धार गर्ने र उद्धार गरिएकालाई अस्थायी संरक्षणमा सहयोग गर्ने कार्य गर्छ ।
कार्यदल सदस्य प्रविण सिलवालका अनुसार हालसम्म ३९ जना बालक र ३१ जना बालिका गरी ७० जना बालबालिकाको उद्धार कार्यदलले गरेको छ ।
उनीहरुमध्ये ३६ जनालाई कार्यदलले बाल संरक्षण गृहमा राखेको छ भने ३३ जनालाई परिवारसंग पुर्नमिलन गराएको छ । यस्तै, १ जना बालक अस्थायी संरक्षण गृहबाट भागेकाले उनको खोजी भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्