काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा.सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउन भनिएको छ।
समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। उल्लेखित खरिद प्रक्रियासम्बन्धी विभिन्न निकायमा गुनासा तथा उजुरी परेपछि मन्त्रालयले आन्तरिक जानकारी र आवश्यक मूल्याङ्कनका लागि छानबिन समिति गठन गरेको जनाएको छ।
नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका विभिन्न खरिद प्रक्रियाको पारदर्शिता, प्रतिस्पर्धा र कानुनी प्रक्रियाको पालना सम्बन्धमा प्रश्न उठ्दै आएका छन्। यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे अध्ययन तथा छानबिन गर्न छुट्टै समिति गठन गरेको थियो।















प्रतिक्रिया दिनुहोस्