Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

झाडी फाँडेर सुन्तला बगानमा रमाएका श्रेष्ठ भन्छन्– ‘कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्’

झाडी फाँडेर सुन्तला बगानमा रमाएका श्रेष्ठ भन्छन्– ‘कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्’
विज्ञापन
Advertisement

म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउनका समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्‍यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।

विज्ञापन
Advertisement
Advertisement

बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । ‘बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,’ उनले भने, ‘काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो।’ रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् ।

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए । ‘यसपाली १५ लाखको सुन्तला बिक्री भयो,’ उनले भने, ‘कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैचा किनेर फार्म विस्तार गरेको छु।’

दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि ब्यवसायमा जोडिएको विकासले बताए । उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए । काठमाडौको बल्खुका ब्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए ।

घरजग्गा ब्यापार छाडेर कृषि ब्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढीरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्‍यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बनेका छन् ।

दोसल्लेका अगुवा कृषक खगवीर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती सुरू गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताए । ‘उहाँ (विकास) ले बाँझो जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भने, ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गर्नुभएको छ ।’ सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए । विकासको सुन्तला बगैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा ब्यवसायीहरु आउने गरेका छन् । उक्त बगैचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैचाको बिच भागमा पाहुना र आफु बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।

समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटरको उचाईमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।

गत वर्ष ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit