
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट सुरू हुनेछ ।
सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका थिए ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
फाइनल खेल हेर्न रंगशालामा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् ।
प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । त्रिपुरेश्वरस्थित वल्डट्रेड बुफोन सेन्टरको डिजिटल बोर्डबाट समेत दर्शकले फाइनल खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्