images images images
images images images
images
images
images

विराटनगर विमानस्थल : तीन अर्बको प्रोजेक्टमा दुई सिफ्टमा काम, टर्मिनल भवनको भौतिक प्रगति ४७ प्रतिशत

images

काठमाडौं ।  विराटनगर विमानस्थलको स्तरोन्नति कार्य अनुरुप नयाँ टर्मिनल भवनको निर्माणले गति लिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको विसं २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए । भवन निर्माण आगामी २०८२ मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य छ । नयाँ टर्मिनल भवन निर्माणमा दैनिक २२५ कामदारले बिहान ७ देखि राति १० बजेसम्म दुई ‘सिफ्ट’मा काम गरिरहेको जनाइएको छ ।

images
images

कोशी/डाँफे जेभी निर्माण कम्पनीले तीन अर्ब १२ करोडको लागतमा भवन निर्माणको ठेक्का लिएको हो । भवनमा प्रतिघण्टा ५५० यात्रु बस्ने क्षमताको हुनेछ भने १७ वटा चेक इन काउन्टर, अति विशिष्ट कक्ष, बालबालिकाको खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा व्यावसायिक विभित्र पसल तथा कक्ष रहनेछन् ।

प्रदेशको राजधानी रहेको विराटनगरमा आगामी दिनमा हवाई यात्रुको सङ्ख्या बढ्ने सक्ने सम्भावनाका आधारमा भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ । तीनतले सो भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहेछन् ।

विराटनगर नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी युवराज अधिकारीले हाल विमानस्थलबाट दैनिक दुई हजार यात्रुहरुले सेवा लिइरहेको बताए । विमानस्थलमा हाल दैनिक रुपमा बुद्ध एयरले नौ, यतिले छ र श्री एयलाइन्सले चारवटा उडान गरिरहेका छन् ।

निर्माण कम्पनीका इन्जिनियर रमेश पौडेलले अत्याधुनिक प्रविधिको प्रयोग गरी भवन निर्माण गरिएको उल्लेख गरे । उनले तोकिएको समयमै काम पूरा गर्ने गरी लागिएको बताए । आगामी दिनमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने गरी भवनमा निर्माण गरिएको उनको भनाइ छ ।

भारत सरकारको सहयोगमा विसं २०२५ मा निर्माण गरिएको विराटनगर विमानस्थलले कूल १२२ बिघा क्षेत्रफल ओगटेको छ । विराटनगर–११ का व्यवसायी अर्जुन सुवेदीले काठमाडौंपछि ठूलो सहरका रुपमा रहेको यस क्षेत्रबाट भारतको नयाँ दिल्ली, बनारस, कोलकाता र बङ्गलादेशमा उडान भएमा यस क्षेत्रमा पर्यटकहरुको आवागनमा वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

विराटनगर विमानस्थलबाट केही समयअगाडि पोखरा, भैरहवा र हिमाली उडान भएका थिए । यस्तै, नेकोन एयरले केही वर्षअगाडि विमानस्थलबाट भारतको कोलकाताको उडान गरेको थियो ।

विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा १७ करोड ५६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । साथै सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरु यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरुको आवागमन भएको तथ्यांक छ । सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान गन्तव्यतर्फ गएका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्