Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

पातिहाल्नामा हिउँ खेल्न पुगे आन्तरिक पर्यटक

पातिहाल्नामा हिउँ खेल्न पुगे आन्तरिक पर्यटक
विज्ञापन
Advertisement

काठमाडौं ।  हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ।

विज्ञापन
Advertisement
Advertisement

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक–दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भएका छन् ।

कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छभने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच–सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताए।

हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए । “टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भने, ‘यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन् ।’ तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उनको भनाइ छ।

मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातिहाल्नामा एक छिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनि आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रूकुम पश्चिमबाट आएका चन्द्रबहादुर कुँवरले बताए।

यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उनले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाए।

प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिसहरू थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताएका छन्। यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीविरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उनले बताए।

पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका–१ का दिलचन पुनले बताए। पातिहाल्नामा दैनिक रूकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उनले बताए।

कतिपय मानिसहरू एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit