रौतहट । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ ।
समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ ।
हातेमालो सामुदायिक उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले समूहमा आबद्ध भएका महिलालाई उद्यमशीलताको विकास गर्न सालको दुना–टपरीको व्यावसायिक उत्पादन गर्दै आइरहेको बताए । उनले भने, ‘यहाँ उत्पादन भएको दुना–टपरीको माग थेगिनसक्नु छ । ग्राहक आफैँ समूहको कार्यालयमा आएर लिएर जाने गर्नुहुन्छ । हामीले अझै पनि मागअनुसारको आपूर्ति गर्न सकेका छैनौँ ।’
समूहका अनुसार सालको पातबाट बनाइएको प्रति टपरीको मूल्य चार, ठूलो दुनाको दुई र सानो दुनोको एक रुपैयाँ बजार मूल्य तोकिएको छ । ‘प्लाष्टिकबाट उत्पादन भएको प्लेटभन्दा सस्तो र धार्मिक दृष्टिकोणले पनि चोखो हुने भएकाले सालको दुना–टपरीको माग अत्यधिक छ’, समूहका कार्यालय सचिव लक्ष्मण महतोले भने, ‘यहाँ उत्पादन भएको दुना–टपरीको महिला उद्यमीलाई आवश्यक पर्ने सबै खर्च दिएर समूहले पनि मासिक ३० हजारभन्दा धेरै रकम बचत गर्दै आइरहेको छ ।’
समूहले महिला उद्यमीले सालको पात टिपेर र सामान्य खालको टपरी खुटेर ल्याउनेसँग टपरी प्रतिगोटा दुई रुपैयाँमा खरिद गर्ने गर्छ । बिजुलीको महसुल र टपरी बनाउनेलाई ज्याला तथा अन्य खर्चका लागि भने प्रतिटपरी दुई रुपैयाँ लिँदै आइरहेको छ ।
दुना–टपरी बनाउने उपकरण चलाउँदै आएकी लक्ष्मी लामाले आफ्नै गाउँघरमा सानो भए पनि उद्यम गर्न पाएकामा हर्षित भएको बताइन । उनले उद्यमका कारण जीवन सहज बनेको धारणा राखिन । ‘आफ्नै गाउँघरमा बसेर दैनिक छ सय आम्दानी गर्दै आइरहेकी छु । यसले पक्कै पनि हामीलाई काम गर्न सहयोग पुर्याएको छ।’
टपरी बनाउनका लागि सालको पातलाई सामान्य ढङ्गले खुटेर फलामको डाइमेसिनमा राखेर टपरी वा दुनाको आकार दिने गरिन्छ । समूहले २०८० जेठ १० गतेदेखि व्यावसायिक रूपमा सालको दुना–टपरीको उत्पादन गर्दै आइरहेको छ । यहाँ दैनिक दैनिक छ सय टपरी र एक हजारको हाराहारीमा सानाठूला दुना उत्पादन हुने गर्छ ।















प्रतिक्रिया दिनुहोस्