Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतीय बजारमा नेपाली उत्पादनको बढ्दो लोकप्रियता

भारतीय बजारमा नेपाली उत्पादनको बढ्दो लोकप्रियता
विज्ञापन
Advertisement

भारत । भारतको देहरादूनमा भइरहेको इन्डो–नेपाल व्यापार महोत्सवमा नेपाली उत्पादनहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी, विजयसाल काठबाट बनेका भाँडा, नेपाली हस्तकला, भीर मौरीको मह, सिन्की, ढाकाका कपडा, तथा अन्य स्थानीय उत्पादनहरू उपभोक्ताको रोजाइमा परिरहेका छन्। नेपाली उत्पादनको प्रवर्द्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको छ।

विज्ञापन
Advertisement
Advertisement

विजयसालका भाँडामा विशेष चासो

कञ्चनपुरका गणेशराज बोहोराले स्टलमा आउने ग्राहकलाई विजयसालका भाँडाका फाइदा सुनाउँदै भाँडाको गुणस्तर र आयुर्वेदिक महत्वबारे जानकारी दिइरहेका छन्। ‘यी भाँडामा पानी राखेर सेवन गर्दा मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल नियन्त्रण गर्न मद्दत गर्छ,’ उनले बताए। अघिल्ला दुई महोत्सवमा राम्रो व्यापार भएकाले यस वर्ष उनले १०२ वटा भाँडा ल्याएका छन्, जसको बिक्री राम्रो भइरहेको छ।

विजयसाल संरक्षित वनस्पति भएकाले यसको काठ प्राप्त गर्न कठिन भइरहेको छ। ‘पहिले वर्षमा १० हजार भाँडा बनाउँथें, अहिले ३–४ सय पनि उत्पादन गर्न गाह्रो छ,’ उनले थपे। यस समस्याको समाधानका लागि उनले कञ्चनपुर, बेदकोट र बेलोरीमा ३०० विजयसालका विरुवा रोपिसकेका छन्।

नेपाली हस्तकलामा भारतीय उपभोक्ताको चासो

महोत्सवमा नेपाली हस्तकलाका सामग्री विशेष आकर्षणको केन्द्र बनेका छन्। काठमाडौँबाट आएका राजधानी हस्तकलाका रजनी चित्रकारले रुद्राक्ष, बोधिचित्त माला, थाङ्का चित्रकलाका सामग्री राखेका छन्। ‘महोत्सवले नेपाली हस्तकलाको बजारीकरणका लागि ठूलो अवसर प्रदान गरेको छ,’ उनले भनिन्।

त्यस्तै, भक्तपुरका लायन तामाङले थाङ्का चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरका रूपमा महोत्सवलाई लिएका छन्। ‘ थाङ्काका चित्रकलामा भारतीय नागरिकले ठूलो रुचि देखाएका छन्,’ उनले भने। उनका स्टलमा रु ५० हजारसम्म मूल्य पर्ने थाङ्का राखिएको छ।

खाद्य उत्पादनको माग

चितवनबाट आएकी अम्बी धितालले मस्यौरा, तितौरा, टिमुर, कोदोको पीठो जस्ता नेपाली उत्पादनहरू ल्याएकी छन्। ‘हाम्रो उत्पादनको ६० प्रतिशत विदेश निर्यात हुन्छ, महोत्सवले बजार विस्तारमा ठूलो सहयोग पुर्‍याएको छ,’ उनले बताइन्।

काठमाडौँकी संगीता गुरुङले रोल्पा र रुकुमबाट भीर मौरीको मह ल्याएकी छन्। ‘भीर मौरीको मह धेरैले रुचाएका छन्, महोत्सवमा यसको बिक्री राम्रो भइरहेको छ,’ उनले भनिन्।

व्यापारिक अवसर र सीमापार व्यापारमा चुनाैती

कैलालीकी उमा खत्रीका अनुसार महोत्सव नेपाली उत्पादनको प्रवर्द्धनका लागि उत्कृष्ट थलो भए पनि सीमाबाट सामान ओसारपसार सहज नभएको गुनासो छ। ‘व्यापार बढाउने हो भने दुवै देशका सरकारले सीमापार व्यापारलाई सरल बनाउनुपर्ने आवश्यकता छ, उनले बताइन्। नेपाली उत्पादनप्रति भारतीय बजारमा बढ्दो आकर्षण र व्यापारिक अवसरको सँगसँगै केही चुनौतीहरू पनि देखिएका छन्। महोत्सवले नेपाली सामानको प्रवर्द्धन मात्र गरेको छैन, दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर पनि प्रदान गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit