Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

सुटबाट मालामाल बनेका ‘सुटमाला’का परिकल्पनाकार

सुटबाट मालामाल बनेका ‘सुटमाला’का परिकल्पनाकार
विज्ञापन
Advertisement

काठमाडाैं । सिलाई क्षेत्रलाई नयाँ ब्राण्डिङ गर्न सुटमालाको भूमिका अतुलनिय छ। राज कार्की यस्ता व्यक्ति हुन्, सिलाई क्षेत्रलाई उद्यमको रुपमा विकास गर्दै लैजानुपर्ने कुरामा जोड दिन्छन्। बजारमा आउने नयाँ फेसन, कलालाई नेपाली पहिचानसँग जोड्न र स्वेदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि कार्कीले समाजमा उलेख्य भूमिका खेलेका छन् । यी र यस्तै विषयमा केन्द्रित रहेर कार्कीसँग कर्पोरेट समाचारले गरेको कुराकानीको सम्पादित अंशः

विज्ञापन
Advertisement
Advertisement

तपाईंले ‘सुटमाला’ को परिकल्पना कसरी सुरु गर्नुभयो ? अलिकति बताइदिनुहोस्।
सुटमालाको सुरुवात अलि चुनौतीपूर्ण समयमा भएको हो। त्यो समय कोभिड महामारीले धेरै व्यवसायहरू डराइरहेका थिए, मानिसहरू पनि अनिश्चिततामा थिए। बागबजारजस्तो क्षेत्रमा त ठाउँ पाउनै गाह्रो थियो। त्यही कठिन समयमा, अरूले जोखिम नलिन खोजिरहेको बेला, मैले सुटमालाको स्थापना गरें। सुटमाला अहिले चार वर्ष पूरा गर्दैछ, र म स्वयं टेलरिङ क्षेत्रमा करिब सात ÷आठ वर्षदेखि संलग्न छु।

मेरो करियरको सुरुवात भने शिक्षा क्षेत्रबाट भएको हो। एसएलसी पास गरेपछि म शिक्षक बने, पछि त्यही विद्यालयको सञ्चालक हुँदै नेतृत्व गर्ने अवसर पनि पाए। तर सानैदेखि सुट लगाउने रुचि थियो, सुट व्यवसायसँग जोडिएका मानिसहरूसँग राम्रो सम्बन्ध पनि थियो। त्यसै क्रममा बागबजारमै एक जना सुट व्यवसायीको साझेदारीमा टेलरिङ व्यवसाय सुरु गरियो।

शिक्षा र व्यवसाय दुवैलाई सँगसँगै अगाडि बढाउन गाह्रो भएपछि मैले सुट व्यवसायलाई प्राथमिकता दिने निर्णय गरे। विद्यालय विस्थापित भएपछि अब के गर्ने भन्ने सोच आयो। त्यसबेला दुई वटा व्यवसायको विचार मनमा आयो। एउटा, विराटनगरतिर घर भएकाले चामल उद्योग खोल्ने ‘श्रीराज चामल’ ब्रान्ड बनाउने योजना थियो। तर ठाउँ खोज्दा जताततै चिस्यान हुने, चामल बिग्रिने अवस्था देखियो। त्यो देखेपछि चामलभन्दा लुगा नै राम्रो विकल्प हो भन्ने सोच आयो। त्यसपछि समाजमा केही योगदान गर्ने उद्देश्यले आफ्नै नामबाट ‘सिराज कलेक्सन’ सुरु गरें। तर पछि लाग्यो, यो नाम अलि पुरानो शैलीको भयो । बजारमा यस्तै नाम भएका धेरै टेलरहरू पनि थिए। त्यसैले फरक पहिचान बनाउने सोच आयो। टेलरिङलाई केवल सानो व्यवसाय नभई उद्यमशीलता र उद्योगसँग जोड्ने अवधारणा बनाउँदै नयाँ नाम खोजियो।

अर्को कुरा ‘सुट’ त विदेशी शब्द हो, तर यसलाई नेपाली संस्कारसँग पनि जोड्नुपर्छ भन्ने लाग्यो। नेपाली संस्कृतिमा ‘माला’ सम्मान र गरिमाको प्रतीक हो। यही सोचबाट ‘सुटमाला’ नामको जन्म भयो जहाँ आधुनिक सुट र नेपालीपन दुवैको संगम होस् भन्ने चाहना राखिएको छ। आज सुटमाला चार वर्ष पूरा गरेर निरन्तर अगाडि बढिरहेको छ।

सुरुवातमा तपाईंले लगानी कसरी गर्नुभयो ? अहिले यो कति पुँजीसम्म पुगेको छ ?
सुरुवातमा मसँग जम्मा करिब ७५ हजार रुपैयाँ मात्रै थियो। ‘सिराज कलेक्सन’ सुरु गर्दा भने साथीभाइको सहयोग र आफ्नै स्रोत मिलाएर करिब २० देखि २५ लाख रुपैयाँको लगानीबाट काम अघि बढाइएको थियो।

पछि ‘सुटमाला’ सुरु गर्दा भने लगानी अझै बढ्यो। बागबजारको स्पेस, भाडा, सेटअप र अन्य पूर्वाधारमा खर्च गर्नुपरेकोले करिब ३० लाख रुपैयाँभन्दा बढी लगानीबाट सुटमालाको औपचारिक सुरुवात गरिएको हो। अहिले यो व्यवसाय क्रमशः विस्तार हुँदै अघि बढिरहेको छ।

पछिल्लो समय नयाँ–नयाँ फेसन र ब्रान्डहरू आइरहेका छन्। ती ब्रान्डहरूलाई तपाईंहरू कसरी ग्राहकसमक्ष प्रस्तुत गर्नुहुन्छ ?
सुटमाला स्थापना भएदेखि नै हामीले ब्रान्डलाई अत्यन्तै महत्व दिएका छौं। बजारमा कहिलेकाहीँ ‘हामी सबैभन्दा चर्चित ब्रान्ड हौं’ भन्ने कुरा सुनिन्छ, तर हामी त्यो दाबी गर्दैनौं। सुटमालाको पहिचान भनेको ग्राहकहरूले दिनुभएको माया र विश्वास हो।

हाम्रो सोच सधैं एउटै छ हामीले के बेच्यौं भन्नेभन्दा पनि ग्राहकलाई के दियौं भन्ने कुरा बढी महत्वपूर्ण हो। आज विश्व बजारमा हातले बनाइएका (ह्यान्डमेड) सामग्रीको ठूलो मूल्य छ, तर नेपालमा भने अझै त्यसको उचित मूल्यांकन हुन सकेको छैन। यसको मुख्य कारण गुणस्तर र ब्रान्डिङ हो। त्यसैले हामीले सुरुदेखि नै गुणस्तर र ब्रान्ड निर्माणमा विशेष ध्यान दिएका छौं। यसका लागि सुटमालामा छुट्टै टिम बनाइएको छ, जसले कारखाना, कपडाको गुणस्तर, सिलाइ र फिनिसिङसम्म सबै कुरा निगरानी गर्छ। ग्राहकसम्म पुग्नुअघि हरेक पहिरन हाम्रो टिमले जाँच गर्छ, र मापदण्ड पूरा भएपछि मात्र ग्राहकलाई प्रदान गरिन्छ।

ह्यान्डमेड लुगा आफैंमा गुणस्तर हो, तर यो मान्छेको सिपसँग जोडिएको काम भएकाले कहिलेकाहीँ त्रुटि हुन सक्छ। त्यसैले हामीले गुणस्तरमा सम्झौता नगर्ने उद्देश्यसहित बलियो टिम विकास गरेका छौं।
ब्रान्ड निर्माणको सवालमा पनि हामी निकै सचेत छौं। मिडियाकर्मी, विभिन्न क्षेत्रका व्यक्तित्व र ग्राहकहरूले दिएका सुझाव र आलोचनालाई हामी सकारात्मक रूपमा लिन्छौं। कमजोरी औंल्याइदिनु, गुणस्तरतर्फ सजग गराइदिनु नै हाम्रो लागि ठूलो सहयोग हो। ती सुझावलाई गम्भीरतापूर्वक ग्रहण गरेर सुधार गर्दै जानु नै सुटमालाको गुणस्तर र ब्रान्ड निर्माणको मुख्य आधार हो।

हाम्रा स्वदेशी उत्पादनहरूले यो क्षेत्रमा कतिको प्रतिस्पर्धा गर्न सक्छन् ?
यस क्षेत्रमा स्वदेशी उत्पादनले राम्रोसँग धान्न सक्छ भन्नेमा हामी विश्वस्त छौं। विशेषगरी टेलरिङको कुरा गर्दा हामी रेडिमेड कपडालाई प्राथमिकता दिँदैनौं। कारण के हो भने टेलरिङ भनेको हातको सिपसँग जोडिएको काम हो, र रेडिमेड कपडा र ह्यान्डमेड कपडाबीच आकाश–जमिनको फरक हुन्छ। रेडिमेड कपडा एउटा सामान्य अनुमानमा बनाइन्छ, जसले व्यक्तिको शरीर संरचनाअनुसार सही फिट र फिनिस दिन सक्दैन। तर ह्यान्डमेड कपडा भने प्रत्येक व्यक्तिको शरीर संरचनाअनुसार नाप लिएर बनाइन्छ। यही कारणले टेलरिङको वास्तविक मूल्य र महत्व देखिन्छ।

हाम्रो समस्या के छ भने हामी नेपालमा लुगालाई संस्कार, पहिचान र व्यक्तित्वसँग जोडेर बुझ्न सकेका छैनौं। धेरैजसोले सजिलोका लागि लुगा लगाउँछौं, दुख नहोस्, समय बचोस् भन्ने सोचले। रेडिमेड कपडाप्रति झुकाव पनि यही ‘सजिलो’ संस्कारबाट आएको हो। हामीलाई रेडिमेडमा बानी परिसकेको छ।

ग्राहकहरू लुगा किन्न आउँदा प्रायः दुईवटा कुरामा मात्र ध्यान दिन्छन् , भुवा आउँछ कि आउँदैन, खुम्चिन्छ कि खुम्चिँदैन। आइरन गरेर लुगा लगाउने संस्कार पनि नेपालमा बलियो छैन। विशेषगरी काठमाडौंजस्तो व्यस्त शहरमा समय, बत्ती र सुविधा नभएको कारण आइरनलाई झन्झटको रूपमा हेरिन्छ।

तर जब मानिसले आफ्नो शरीरअनुसार बनेको हातको लुगा लगाउँछ, त्यही लुगाले आत्मविश्वास दिन्छ। यो आत्मविश्वास लुगाको गुणस्तर र फिटबाट आउँछ। तपाईंले पनि महसुस गर्नुभएको होला जिन्स लगाएर हिँड्दा र सुट लगाएर हिँड्दा मानिसको हाउभाउ, बोल्ने शैली र आत्मविश्वास फरक हुन्छ।
सुट केवल पहिरन मात्र होइन, यो व्यक्तित्व, नेतृत्व र पहिचानसँग जोडिएको कुरा हो। पहिला ‘सुट लगाउने मान्छे भनेको बैंकर हो’ भन्ने धारणा थियो, त्यो वास्तवमा लुगाले दिएको पहिचान हो। त्यसैले लुगा, विशेषगरी हातले बनाएको सुट, व्यक्तिको आत्मविश्वास र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ।

यही कारणले हामी विश्वास गर्छौं कि गुणस्तर, सिप र सही सोचसँग अघि बढ्ने हो भने स्वदेशी ह्यान्डमेड उत्पादनहरूले यो क्षेत्रमा बलियो उपस्थिति बनाउन सक्छन्।

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनिरहेको हुन्छ। तर व्यवहारमा त्यो लागू भएको देखिँदैन। तपाईहरू पनि स्वदेशी उत्पादनमै जोड दिन्छौं भन्नुहुन्छ। तर कार्यान्वयन हुन नसकेको मुख्य कारण कहाँ जस्तो लाग्छ?

यसमा मुख्य रूपमा दुईवटा कुरा जोडिन्छ । नीति र प्रतिस्पर्धा। सरकारको तर्फबाट नीति त बनाइन्छ, तर कार्यान्वयन कमजोर छ। हामीले के महसुस गरेका छौं भने सुरुदेखि नै नेपाली उत्पादनप्रति आम उपभोक्तामा विश्वास र भरोसा कम छ। हामी सबै ‘नेपाललाई माया गर्नुपर्छ, नेपाली उत्पादन प्रयोग गर्नुपर्छ’ भन्छौं। तर जब उपभोक्ता बनेर बजारमा आउँछौं, त्यही नेपाली उत्पादनप्रति विश्वास घटेको देखिन्छ। हामी व्यवसायी पनि अन्ततः व्यवसाय नै गरिरहेका हुन्छौं। त्यसैले चाहेर पनि ग्राहकको चाहना अनुसार उत्पादन राख्नुपर्ने बाध्यता हुन्छ।

ग्राहकमा नेपाली उत्पादनप्रति विश्वास नहुँदासम्म हामी विदेशी सामान ल्याएर बेच्न बाध्य हुन्छौँ। यदि सबै सरकारी कर्मचारी, संघ–संस्था र जिम्मेवार निकायहरूले अनिवार्य रूपमा नेपाली उत्पादन प्रयोग गर्ने नीति लिएको भए स्वाभाविक रूपमा बजारमा नेपाली उत्पादन नै बिक्थ्यो। तर अहिले अवस्था के छ भने यदि मैले केवल नेपाली उत्पादन मात्र स्टोर गरेँ भने लगानी डुब्ने जोखिम हुन्छ। त्यसैले विदेशी उत्पादन राख्नुपर्ने बाध्यता आउँछ। विडम्बना के छ भने विदेशबाट आउने पर्यटकले नेपाली उत्पादन खोज्छन्, तर नेपाली उपभोक्ता भने विदेशी उत्पादन खोज्छन्। यो ठूलो विरोधाभास हो।

हामीले कहिलेकाहीँ नेताहरूले ‘अब म नेपाली लुगा मात्र लगाउँछु” भनेको पनि सुन्छौँ। एक–दुई पटक त लगाएको देखिन्छ, तर केही समयपछि फेरि विदेशी लुगामै फर्किएको पाइन्छ। अर्को समस्या फेसनसँग सम्बन्धित नीतिको हो। सरकारले फेसन उद्योगलाई गम्भीर रूपमा सम्बोधन नै गरेको छैन। नीति बनाउँछ तर कार्यान्वयन गर्दैन। हामीले चलाएका अभियानहरू पनि बजारसम्म पुगेर प्रभावकारी रूपमा लागू हुँदैनन्।

म आफैँ पनि युवा परिषद् अन्तर्गत विभिन्न संजालमा बसेर परम्परागत सिपलाई ब्रान्डिङ गर्ने, आधुनिक बनाउने, डिजिटलाइज गर्ने प्रयासमा छु। तर धेरैजसो काम ‘आँखामा छारो हाल्ने’ जस्तो मात्र भएको महसुस हुन्छ।

मैले आफ्नो स्थापना कालदेखि नै नेपाली परम्परागत उत्पादनमै जोड दिएको छु। अहिले अल्लो जस्ता केही उत्पादन मात्र अलि–अलि बिकिरहेका छन्, अरू उत्पादनको अवस्था कमजोर छ। यसको कारण लागत र उपभोक्ताको सोच पनि हो। हामी उपभोक्ताहरू सस्तोमा राम्रो चाहन्छौं। कपडा कति टिक्छ, भुवा उठ्छ कि उठ्दैन, खुम्चिन्छ कि खुम्चिँदैन, यति हजारमा आउँछ कि आउँदैन—यिनै कुरामा केन्द्रित हुन्छौं।

अझ रोचक कुरा के छ भने विदेशमा शाहरुख खानले लगाएको लुगा हामी ६–७ हजारमै खोज्छौँ। उहाँले कुन ब्रान्डको, कति मूल्यको लुगा लगाउनुभएको हो भन्ने चासो लिँदैनौँ। बस ‘उहाँले लगाएको जस्तै सुट चाहियो’ भन्छौँ। यही सोच र व्यवहार नै हाम्रो परम्परागत तथा स्वदेशी उत्पादन नबुझिनुको सबैभन्दा ठूलो समस्या हो।

पछिल्लो समय देशमा आर्थिक सुस्तता देखिएको छ। बैंकमा पैसा थुप्रिएको छ तर लगानीको वातावरण बन्न सकेको छैन। यस्तो अवस्थामा व्यवसायीहरूमा निराशा देखिन्छ। टेलरिङ क्षेत्रमा यसले कस्तो असर पारेको छ?
म व्यक्तिगत रूपमा के भन्छु भने, जीवनमा सधैँ कुनै न कुनै बहाना आइरहन्छ। बच्चा जन्मेदेखि नै “ढिलो हिँड्यो, ढिलो बोल्यो” जस्ता बहाना सुरु हुन्छन्। तर जीवनमा समस्या नआउने समय कहिल्यै हुँदैन। कहिले भूकम्प, कहिले कोभिड, अहिले आर्थिक सुस्तता—यी सबै समय–समयमा आइरहन्छन्।

महत्वपूर्ण कुरा के हो भने, तपाईं आफूलाई समाज र व्यवसायमा कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने हो। व्यवसाय सुरु गरेदेखि नै कहिल्यै पनि पानीजस्तै बग्ने, सहज आर्थिक अवस्था हुँदैन। नेपालमा कहिल्यै पनि बैंकहरूले लाइन लगाएर व्यवसायीलाई पैसा दिएको अवस्था आएको छैन। त्यसैले अहिलेको आर्थिक संकटलाई मात्र दोष दिनु भन्दा पनि, हामीले आफ्नो व्यवसायलाई कसरी अगाडि बढाइरहेका छौँ भन्ने कुराले ठूलो अर्थ राख्छ। मिडियामा ‘सटर बन्द भए’ भन्ने खबर आउँछ, जसले नयाँ व्यवसाय गर्न चाहनेहरूलाई झन् डर पैदा गर्छ। तर अरूलाई हेरेर होइन, आफूलाई हेरेर अघि बढ्नुपर्छ।
कहिले ग्राहक लाइन लागेर आउँछन्, कहिले बजार सुनसान हुन्छ। यो व्यवसायको स्वाभाविक चक्र हो। तर हामी प्रायः के मात्र सुन्छौँ भने—आर्थिक संकट छ, समय अनुकूल छैन। म के भन्छु भने बहाना भन्दा चाहना ठूलो हुनुपर्छ। चाहना बलियो भयो भने सम्भव हुन्छ। यो नेपालमा मात्र होइन, संसारभरि नै आर्थिक नीति र समयसँगै समस्या आइरहन्छन्।

तपाईं टेलरिङ पेशालाई अभियानकै रूपमा अघि बढाइरहनुभएको छ। यस अभियानको उद्देश्य के हो? नयाँ उद्यमीलाई के सन्देश दिन चाहनुहुन्छ?
उद्यमशीलतामा तपाईंले के काम गर्नुभयो भन्दा पनि, त्यो कामलाई कसरी अघि बढाउनुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। हामीले होटल डुबेको पनि देखेका छौं, किराना पसल, अस्पतालसमेत असफल भएको देखेका छौं ।

टेलरिङ भनेको सानो पुँजीमा सुरु गर्न सकिने उत्कृष्ट उद्यमशीलता हो। तर दुर्भाग्यवश, यसलाई अझै पनि ‘नपढेकाले गर्ने काम’ भनेर हेरिन्छ। जबकि विश्वभर फेसन उद्योगको ठूलो मूल्य छ। त्यहाँ काम गर्ने व्यक्तिको सम्मान र उत्पादनको मूल्य दुवै उच्च छ। मैले गर्न खोजेको के हो भने, परम्परागत टेलरिङ व्यवसायलाई समयअनुसार रूपान्तरण गर्नु। आजको समय डिजिटल र प्रविधिको हो। टेक्नोलोजी, एप्स, नयाँ प्रणाली भित्र्याएर टेलरिङलाई आधुनिक उद्यम बनाउनु आवश्यक छ।
हिजो टेलरिङ जीवन निर्वाहको साधन थियो। आज यो जीवन परिवर्तन गर्ने उद्यम बन्न सक्छ। त्यसैले म भन्न चाहन्छु यो सानो व्यवसाय होइन, यो ठूलो उद्यमशीलता हो।

हिजो लाज छोप्न कपडा बनाइन्थ्यो, आज प्रतिष्ठा जोगाउन लुगा लगाइन्छ। त्यसैले हामी अपडेट हुनैपर्छ। यदि अपडेट भयौँ भने, टेलरिङ व्यवसाय विश्वकै सबैभन्दा डिमान्डिङ क्षेत्र हो। विडम्बना के छ भने, नेपालका ठूला पदमा बसेका व्यक्तिहरूले पनि आफ्नो लुगा र फेसनप्रति गम्भीरता देखाएको पाइँदैन। आज अमेरिकामा नेपाली मूलका डिजाइनर प्रबल गुरुङले विश्वका प्रतिष्ठित व्यक्तिहरूका लागि लुगा डिजाइन गरिरहेका छन्।

तर आफ्नै देशमा हामी फेसनलाई गम्भीर रूपमा लिदैनौं । यदि राज्य र स्थानीय सरकारले वातावरण बनाइदियो भने, युवा उद्यमीहरूमा ठूलो ऊर्जा आउँछ। म अन्त्यमा युवालाई यही भन्न चाहन्छु । नेपालमा सम्भव छ। यदि ‘हुँदैन’ भनेर सोच्नुभयो भने, जहाँ गए पनि हुँदैन। तर ‘गर्छु’ भन्ने आँट भयो भने, यही देशमा पनि सबै सम्भव छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit