Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

औद्योगिक सार्वजनिक संस्थानको स्थिति नाजुक, सबै संस्थान घाटामा

औद्योगिक सार्वजनिक संस्थानको स्थिति नाजुक, सबै संस्थान घाटामा
विज्ञापन
Advertisement

काठमाडौं ।मुलुकका औद्योगिक सार्वजनिक संस्थानहरूको समग्र अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा औद्योगिक क्षेत्र अन्तर्गतका १० वटा सार्वजनिक संस्थानको कुल सञ्चालन आम्दानी ५.८६ प्रतिशतले घट्दै ४ अर्ब ७२ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

दुग्ध विकास संस्थान र नेपाल औषधी लिमिटेडको आम्दानीमा सामान्य वृद्धि देखिए पनि हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको आम्दानीमा उल्लेखनीय गिरावट आएको छ। हेटौंडा सिमेन्टको आम्दानी ३९.९१ प्रतिशतले, उदयपुर सिमेन्टको ५०.३३ प्रतिशतले र जडीबुटी कम्पनीको आम्दानी १२.६१ प्रतिशतले घटेको छ।

यस क्षेत्रका अन्य पाँच संस्थान – जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र धौवादी फलाम कम्पनी – हाल व्यवसायिक रूपमा सञ्चालनमा छैनन्। सञ्चालन आम्दानी घट्दै जाँदा खर्च भने उल्टै बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा प्रशासनिक तथा कर्मचारी खर्च ८२ करोड ९९ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.३२ प्रतिशतले बढी हो। विशेष गरी दुग्ध विकास संस्थान र जडीबुटी कम्पनीको सञ्चालन खर्च क्रमशः ८८.२६ र ५१.३० प्रतिशतले बढेको छ। यद्यपि, उदयपुर सिमेन्ट र नेपाल औषधी लिमिटेडले आफ्नो प्रशासनिक खर्चमा क्रमशः ५८.६० र ५५.६९ प्रतिशतको कमी गर्न सफल भएका छन्।

यस्ता प्रयासहरूका बाबजुद पनि घाटाको स्थिति भने कायमै छ। आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ४८ करोड ८५ लाखको घाटा व्यहोरेका संस्थानहरूले समीक्षा अवधिमा घाटा केही घटाउँदै १ अर्ब ४४ करोड ८ लाखमा ल्याएका छन्, जुन ३.२० प्रतिशतको सुधार हो। तर, व्यवसायिक रूपमा सञ्चालित सबै संस्थानहरू घाटामै रहेका छन्।

सञ्चालनमा नरहेको जनकपुर चुरोट कारखानाले भवन तथा जग्गा भाडा वापत २२ लाख आम्दानी गरे पनि त्यसले समग्र अवस्थालाई सुधार गर्न सकेको छैन। यी संस्थानहरूको कुल सञ्चित नोक्सानी आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७३ करोड ३९ लाख रहेकोमा ४.७० प्रतिशतले बढ्दै २१ अर्ब ७० करोड ७७ लाख पुगेको छ।

यो अवस्था दीर्घकालीन रूपमा अस्थिर अर्थतन्त्रको संकेत दिन थालेको विज्ञहरूको चेतावनी छ। दक्ष व्यवस्थापन, पुनर्संरचना, र निजी क्षेत्रसँगको सहकार्यबिना यी संस्थानहरूको पुनरुत्थान कठिन हुने स्पष्ट देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit