
काठमाडौं । उर्जा प्रभावकारी भवन डिजाइनका लागि इञ्जिनियर र आर्किटेक्टहरुलाई काठमाडौं महानगरपालिकाले तालिम सञ्चालन गरिरहेको छ ।
बिल्डिङ् इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा महानगरले लघु, साना र मध्यम उद्यमीका लागि सोमबारदेखि तालिम सञ्चालन गरिरहेको छ । उक्त तालिम भोलि (बुधबार) सकिनेछ । हावापानी सुहाउँदो, तापीय सुविधा सहितको भवन डिजाइन, तापको संवाहन, झ्याल ढोका, तथा भेन्टिलेसनमा प्रयोग गरिने सिसाको ताप र प्रकाशसँगको सम्बन्ध, उर्जा प्रभावकारी भवन निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्री, यस्ता भवन निर्माण सम्बन्धी मापदण्ड, भवन बनाउँदा बैंकहरुबाट प्राप्त हुने सहुलियत ऋणलगायतका विषयमा तालिममा जानकारी गराइने छ ।
मानिसको सरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यसका लागि आरामदायी तापक्रम भनेको २० देखि २६ डिग्री सेन्टिग्रेडसम्मको हो । कार्यस्थलमा मानिसको शरिरलाई २१ देखि २६ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम आवश्यक पर्छ । यो अवस्थालाई ध्यान दिन सकिएन र भवनमा तापीय असुविधा भयो भने मानिसहरु छिटो विरामी हुने, चिन्तित देखिने, काममा ध्यान नजाने, निद्रामा समस्या आउनेजस्ता स्वास्थ्यसँग सम्बन्धित समस्या हुन सक्छन् ।
त्यसलाई मध्यनजर गर्दै हावापानीलाई ध्यान दिएर भवनको डिजाइन गर्नु उर्जा प्रभावकारी भवन निर्माणको मुख्य विषय भएको महानगरले उल्लेख गरेको हो । यसका लागि भवन डिजाइन गर्ने इञ्जिनियर र आर्किटेक्ट, एसी डिजाइनर, नविकरणीय उर्जा उद्यमी, ठेकेदार, निर्माणकर्ता, निर्माण सामग्री उत्पादक, झ्यालढोका उत्पादकको मुख्य भूमिका रहने हुँदा उनिहरुलाई तालिम प्रदान गरिएको हो ।
महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले, सुधार गर्न सकिने ठाउँमा प्रयास अगाडि बढाउँदै लगिएको बताए । समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले, परिवर्तित सहरी संरचनामा उर्जा प्रभावकारिता कहाँ हुन सक्छ, खोज्दै जानु पर्ने आवश्यकता औँल्याए ।
सहरी व्यवस्थापन महाशाखा प्रमुख इञ्जिनियर जीवन रेग्मी, प्रदुषण र कार्वन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन पनि उर्जा प्रभावकारी भवन निर्माणलाई प्राथमिकता दिनु पर्ने अवस्था रहेको बताउँछन् । विभागका सहायक निर्देशक ईश्वरी लौडारले मानव बसोकास अनुकुल सहरी वातावरण सिर्जना गर्न प्राकृतिक वस्तुसँगको सामीप्यता बढाउनु पर्नेमा जोड दिइन ।
यस्तै, बिल्डिङ् इनर्जी इफिसेन्सी इन नेपालका टिम लिडर सुयेश प्रजापतीले भवन निर्माण गर्दा विधि र सामग्रीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘इटा, सिमेन्टजस्ता निर्माण सामग्रीबाट बनेका भवनबाट कार्बन फुटप्रिन्ट उत्पादन हुन्छ । अहिलेसम्म भवन निर्माण गर्दा यो कोणबाट हेरिएको छैन । भवनहरुमा ६० प्रतिशत उर्जा तताउने र चिस्याउने प्रयोजनमा खर्च भइरहेको छ । यसकारण निर्माण विधि र सामग्रीमा विशेष ध्यान दिनु पर्ने बेला भएको छ ।’
जीवन सहजताका लागि घरमा वत्ती बालिन्छ । तातो र चिसो बनाउनका लागि विद्युतीय उपकरणहरुको प्रयोग हुन्छ । टेलिभिजन, मोवाइल, ल्यापटप, कुलर, फ्रिज, पङ्खाजस्ता सामान तथा उपकरण चलाइन्छ । यसबाट प्रदुषण उत्पन्न हुन्छ । उर्जा प्रभावकारी भवनमा यस्ता बस्तु तथा उपकरण जोड्दा ३ वटा मुख्य विषय हेर्नुपर्नेमा जानकारले जोड दिएका छन् । जसमा पहिलो, थोरै उर्जाले काम गर्ने विधि हो । यसमा प्राकृतिक उर्जाको प्रयोगलाई जोड दिइन्छ । दोस्रो, उर्जाको प्रयोग गर्नै परे थोरै प्रयोगबाट धेरै लाभ हुन सक्ने सामग्री छान्नु हो । तेस्रो, नविकरणीय उर्जाको प्रयोग बढाउनु हो ।
मौसम प्रतिकुल भएपछि त्यसलाई अनुकुल बनाउन कृतिम उर्जाको प्रयोग गरिन्छ । यो मौसम परिवर्तनको एउटा कारण हो । उर्जामैत्री भवन निर्माणले बढ्दै गए मौसम प्रतिकुलतामा योगदान पुग्छ ।
नेपालको प्रतिबद्धता
नेपालले सन् २०४५ सम्ममा शून्य हरित गृह ग्याँस उत्सर्जनका लागि प्रतिबद्धता जनाएको छ । २०३० सम्ममा सिमेन्ट तथा इटा उद्योगमा कम प्रदुषण उत्सर्जन हुने प्रविधिको प्रयोग गरेर कोइलाको प्रयोग घटाउने लक्ष्य राखिएको छ । यसै बर्षसम्ममा ५ वटा पर्यटकीय गन्तव्यहरुलाई कार्वन तटस्थ बनाउने लक्ष्य छ । यसै वर्ष (सन् २०२५) सम्ममा सहरबाट न्यून कार्वन उत्सर्जन तथा बसोबासका लागि उत्थानशील मौसम व्यवस्थापनका लागि वातावरणीय व्यवस्थापन मार्गदर्शन निर्माण गर्ने लक्ष्य सरकारको छ ।
उर्जामैत्री भवन निर्माणका लागि क्षमता विकास गर्नु, बजारको प्रणाली व्यवस्थापन गर्नु, भवन निर्माण प्रणालीको विकास गर्न नीति निर्माण गर्नु र यस प्रकारका भवन बनाउनेहरुलाई सहुलियत रकमको व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो । उर्जामैत्री भवन निर्माण कार्य, दिगो विकास लक्ष्यका जलवायु कार्य, किफायती स्वच्छ उर्जा, दिगो सहर र समुदाय, उत्तरदायी उत्पादन र खपत, उद्योग नविनतम प्रविधि र भौतिक पूर्वाधारलगायत शीर्षकससँग सम्बन्धित छ ।
प्रतिक्रिया दिनुहोस्