Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

राष्ट्रिय आर्थिक गणनामा हालसम्म साढे १३ लाख बढी व्यवसायिक विवरण संकलन

राष्ट्रिय आर्थिक गणनामा हालसम्म साढे १३ लाख बढी व्यवसायिक विवरण संकलन
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन सकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो राष्ट्रिय आर्थिक गणनामा कागजी प्रश्नावली र इ–सेन्सस दुवै माध्यमबाट तथ्याङ्क सङ्कलन भइरहेको छ। हालसम्म १३ लाख ४४ हजार ५०० कागजी प्रश्नावली र ६ हजार ६६७ इ–सेन्सस प्रश्नावली प्राप्त भएका छन्।

यससँगै कुल सङ्कलित विवरण पहिलो आर्थिक गणना–२०७५ को तुलनामा उल्लेख्य रूपमा बढी रहेको देखिएको छ। पहिलो गणनामा ९ लाख २३ हजार ३५६ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’भन्ने नारासहित २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म देशव्यापी रूपमा गणना सञ्चालन गरिरहेको छ।

कार्यालयका अनुसार यस गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक संघ–संस्थाका संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिनेछ।

यसबाट प्राप्त तथ्याङ्कले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमानलाई थप विश्वसनीय बनाउन, राष्ट्रिय लेखाको आधार वर्ष अद्यावधिक गर्न तथा नीति, योजना र विकास मूल्याङ्कनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक योजना निर्माणका लागि समेत यो तथ्याङ्क आधार बन्ने विश्वास लिइएको छ। गणना कार्यका लागि देशभर ३ हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक, ५०४ जिल्लास्तरीय व्यवस्थापन समूहका सदस्य तथा ५३ केन्द्रस्तरीय व्यवस्थापन समूहका सदस्य परिचालन गरिएको छ।

कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत विभिन्न सरकारी निकाय तथा प्रदेश र स्थानीय तहका संयन्त्रहरूले समन्वय र सहयोग गरिरहेका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सही विवरण उपलब्ध गराएर गणना अभियान सफल बनाउन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit