काठमाडौं । वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई थप स्थिर र सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ। यस सम्झौताले सम्पत्ति शुद्धिकरण निवारण (AML) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकताहरू अनुरूप वित्तीय अपराधको जोखिम न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ।
यस सम्झौताअन्तर्गत मनीपाल टेक्नोलोजिजको अत्याधुनिक प्रविधिको सहयोगमा सिद्धार्थ बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिको प्रयोग गर्दै वित्तीय कारोबारको अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
सिद्धार्थ बैंकका अनुसार, मनीपाल टेक्नोलोजिजसँगको सहकार्यले बैंकको सम्पत्ति शुद्धिकरण निवारण (AML) प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न मद्दत गर्नेछ। साथै, यस प्रविधिको प्रयोगले बैंकिङ प्रणालीमा नयाँ प्रविधि तथा मापदण्ड स्थापना गर्न महत्वपूर्ण योगदान दिनेछ।
बैंकिङ क्षेत्रमा डिजिटल सुरक्षाको आवश्यकतालाई ध्यानमा राख्दै, यस सहकार्यले वित्तीय अपराध न्यूनीकरण गर्ने मात्र नभई ग्राहकहरूलाई सुरक्षित सेवा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ। सिद्धार्थ बैंकले प्रविधिमैत्री सेवा विस्तार गर्दै ग्राहकहरूको वित्तीय सुरक्षामा उच्च प्राथमिकता दिने नीति लिएको छ। यस सम्झौताले बैंकिङ उद्योगमा नयाँ प्रविधि अपनाउने दिशामा महत्वपूर्ण फड्को मानिनेछ।

















प्रतिक्रिया दिनुहोस्