काठमाडौं । शुक्रबार यो वर्षको अन्तिम ग्रहण लाग्दै छ । पूर्णिमाको दिन चैत १ गते लाग्ने चन्द्र ग्रहण नेपालको तराई र भारत लगायत क्षेत्रमा होलि पर्व मनाउँदै गर्दा सुरु हुन्छ ।
ग्रहण नेपाली समयअनुसार बिहान ९ बजेर ४२ मिनेटबाट सुरु भई दिउँसो ३ः४५ बजे समाप्त हुने खगोलशास्त्रीले बताएका छन् । होलीको दिन लाग्ने पूर्ण ग्रहणलाई ब्लड मुनको नाम दिइएको छ ।
चन्द्रमालाई मनको कारक मानिन्छ । चन्द्र ग्रहण लाग्दा राहु र केतुको प्रभाव अत्यधिक हुने भएकाले चन्द्रमामा ग्रहण लाग्दा मानिसहरुको मन उद्वेलित हुने, मन अशान्त बन्ने र कतिपयले गलत निर्णय लिनसक्ने ज्योतिष शास्त्रीय मान्यता छ ।
शुक्रबार लाग्ने ग्रहण दिनको समयमा लाग्ने हुँदा नेपाल र भातबाट देखिँदैन । धार्मिक मान्यता अनुसार ग्रहण लागेको नदेखेसम्म त्यसको प्रभाव वा असर पर्दैन । त्यसैले यो ग्रहणको कुनै धार्मिक वा ज्योतिषीय प्रभाव नपर्ने र ग्रहणको सुतक बार्नु पनि नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रमामा ग्रहण सुरु हुनुभन्दा ९ घण्टा अघिदेखि सुतक लाग्ने भए पनि नेपालबाट ग्रहण नदेखिने भएकाले सुतक नलाग्ने भएको हो ।
यो ग्रहण विशेषगरी, अस्ट्रेलिया, युरोप, उत्तरी र दक्षिणी अमेरिका, अफ्रिका, पूर्वी एसिया र अन्टार्टिकाबाट पूर्ण वा आशिंक रुपमा देखिने छ ।
चन्द्रग्रहण एक खगोलीय घटना हो । जब सूर्य, पृथ्वी र चन्द्रमा एकै रेखामा आउँछन्, त्यो क्रममा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुगेको हुन्छ । यी तीन आकाशिय पिण्डहरु सीधा रेखामा परेपछि सूर्यबाट चन्द्रमामा पुग्ने प्रकाश पृथ्वीले रोकिदिन्छ र चन्द्रमाले प्रकाश परावर्तन गर्न सक्दैन । चन्द्रमा प्रकाशबिहिन भएको अवस्थालाई ग्रहण भनिएको हो ।
चन्द्र ग्रहण पूर्ण, आंशिक र छाया गरी तीन प्रकारको हुन्छ । चन्द्रमा पूर्ण रुपमा पृथ्वीको छाँयामा आउँछ भने त्यसलाई पूर्ण चन्द्र ग्रहण भनिन्छ । त्यो अवस्थामा चन्द्रमा गोलो रातो रंगको देखिन्छ । त्यसलाई नै ब्लड मुन भनिन्छ । भोली लाग्ने ग्रहण पूर्ण हो ।
पौराणिक मान्यताअनुसार राहु र केतुको कारण चन्द्र ग्रहण लाग्ने गर्छ । ज्योतिष दृष्टिकोणमा यो ग्रहण कन्या राशीमा लाग्दै छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्