इलाम । चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका खेतीबाट मासिक रु ४० हजार आम्दानी गर्दै आएकि छन्। कृषि पेसाबाट राम्रो आम्दानी सम्भव छ भन्ने कुरा उनले आफ्नै परिश्रमबाट प्रमाणित गरेकी छन्। भण्डारीको दिनचर्या बिहानैदेखि तरकारी बारीमा खटिने, दिउँसो उत्पादित वस्तु बजारमा लैजाने र बेलुका पुनः बारीमै व्यस्त रहने हुन्छ। मौसमी र बेमौसमी दुबै प्रकारका तरकारी उत्पादन गर्न सके आम्दानी बढ्ने उनको अनुभव छ।
१० बिघा जमिनमा विभिन्न कृषि उपज उत्पादन गर्दै आएकी भण्डारीको बारीमा मुख्य रूपमा लौका पाइन्छ। गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म निरन्तर बिक्री भइरहेको छ। सुरुमा प्रतिलौका रु १७० पर्ने भए पनि अहिले रु ५० मा बिक्री भइरहेको छ। उनले उत्पादित तरकारी झापाको दमक बजारमा लगेर बिक्री गर्छिन्, जुन करिब सात किलोमिटर टाढा पर्छ।
उनको मासिक आम्दानी रु ४० हजारभन्दा बढी रहेको छ। “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ, दैनिक घरव्यवहार सहजै चलिरहेको छ,” उनले बताइन्। उनले छोरा बुहारीलाई जापान पठाउन लिएको रु १५ लाख ऋण लगभग तिरीसकेकी छन्। लौकाबाहेक कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी तथा मेवा उत्पादन गर्दै आएकी भण्डारी दही, मोही र नौनी घिउ पनि बिक्री गर्छिन्। गाउँका अन्य किसानका उत्पादनसमेत बजारसम्म पुर्याउने काम गर्दै आएकी छन्।
उनका श्रीमान् भूपू प्रहरी हुन्, जसले स्थानीय क्षेत्रमा उत्पादित वस्तु बिक्रीमा सहयोग गर्दै आएका छन्।भण्डारीले १७ वर्षदेखि निरन्तर यो पेसा अपनाउँदै हाल व्यावसायिक रूपमा खेती गर्दै आएकी छन्। हालै स्थानीय निकायको अनुदान कार्यक्रममा सहभागी भई, थप प्रविधिसहितको खेती गर्दै गएका छ। उनले १० जनालाई रोजगारीसमेत दिएकी छन्।
एउटै लौकाबाट रु ५ हजारसम्म आम्दानी
भण्डारीका अनुसार एउटै लौकाबाट रु ५ हजारदेखि ७ हजारसम्म आम्दानी गर्न सकिन्छ। लौका तरकारीका रूपमा मात्रै नभई, बीउका रूपमा बिक्री गर्दा अझ बढी फाइदा हुने बताउँछिन्। रु ५० मा तीन वटा बीउ बिक्री हुने जानकारी दिँदै उनले ध्वाँसे र घिउ लौकाको बजारमा बढी माग रहेको बताइन्। उनको अनुभवमा, ठूला लौकामा बढी बीउ हुने भएकाले त्यसको मूल्य राम्रो पाइन्छ। लौकाका साथै बोडी, काँक्रा, सिमी लगायतका तरकारीको बीउ पनि राम्रो बिक्री भइरहेको छ।
हिमादेवी भण्डारीको सफल कृषि यात्रा कृषिमा सम्भावना खोजिरहेका लागि प्रेरणादायी बन्न सक्छ। कृषि पेसाबाटै राम्रो आम्दानी सम्भव छ भन्ने कुरा उनको मेहनतले प्रमाणित गरेको छ।















प्रतिक्रिया दिनुहोस्