Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमै जिउँदो रहने एउटा प्रेमकथा…..

नेपालमै जिउँदो रहने एउटा प्रेमकथा…..
विज्ञापन
Advertisement

पाेखरा । गुलाबी कुर्ता ÷सुरुवाल, हातमा रातो चुरा, आँखाभरि आँसु अनि मनभरि सम्झना लिएर लोरेटा हुलवर्क सराङकोटको डाँडामा उभिइन्। यो ठाउँ उनलाई कति प्रिय थियो यहाँका हरिया डाँडाहरू, सूर्योदयको सुनौलो चमक, नीलो आकाश, चराचुरुङ्गीका चिरबिर सबै उस्तै थिए। उस्तै थियो पोखराको सौन्दर्य, उस्तै थियो यहाँको शीतल हावापानी। तर आज उनलाई यहाँ उक्लिन साहारा दिने, हात समाउने, संगै मुस्कुराउने कोही थिएन।

विज्ञापन
Advertisement
Advertisement

केही वर्षअगाडि यिनै सिढींहरू श्रीमान् फिल हुलवर्कसँग समाएर उक्लिएकी थिइन्। ती दिनहरू अब सम्झनामा मात्रै सीमित भए। उनका श्रीमान् फिल, जसले नेपाललाई दोस्रो घर माने, जसले पोखरालाई आफ्नो प्राणको टुक्रा सम्झे, उनी आज भौतिक रूपमा यहाँ छैनन्। तर, उनलाई नेपालप्रति भएको प्रेम चिरस्थायी बनाउन लोरेटा उनका अस्तु बोकेर यहाँ आइपुगेकी छिन्।

नेपालसँगको आत्मीय सम्बन्ध

अमेरिकी नागरिक फिल हुलवर्क पहिलो पटक २००७ मा नेपाल आएका थिए। थाइल्याण्ड भ्रमणका क्रममा एक मित्रले नेपालको अनुपम सौन्दर्यबारे बताएपछि उनलाई नेपालले अज्ञात तान्ने शक्ति महसुस भयो। प्रकृतिप्रेमी फिल जब पोखरा आइपुगे, तब उनले यो सहरप्रति अद्वितीय मोह अनुभूत गरे।

पोखराको शान्त वातावरण, फेवातालको किनार, यहाँका सरल, प्रेमिल मानिसहरू– यी सबैले उनलाई यहाँका बनाए। हरेक वर्ष नेपाल आउन थाले। सेवा निवृत्त भएपछि त नेपालमा नै लामो समय बिताउने निर्णय गरे।

नेपालप्रतिको यो मोह सामान्य थिएन। उनले नेपाली संस्कृति, नेपाली खानपान, चाडपर्वहरूलाई आत्मसात गरे। होटल सञ्चालक हरि भुजेलका साथमा नेपाली परिकार खाँदै होली पर्व मनाउने, मठमन्दिर देवालय घुम्ने— यी सबै फिलका रोजाइका पल थिए।

तर, जीवनले अप्रत्याशित मोड लियो। सन् २०१९ मा नेपालमै रहँदा उनलाई नशासम्बन्धी समस्या भयो। पोखराकै होटल ‘रानीवन आर्केट’ मा बसिरहेका फिललाई उपचार गराइयो। जब स्वास्थ्यमा सुधार आएन, लोरेटा उनलाई लिएर अमेरिका फर्किन्। तर, त्यहाँ पुग्नेबित्तिकै थप गम्भीर समस्या देखा पर्यो। उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो।

उपचार चले पनि नियतिको लेखाइ बदलिएन। अन्ततः छ महिनाअघि फिल संसार छाडेर गए।

अन्तिम इच्छा अस्तु नेपालमै मिलोस्

फिलले जिउँदो छँदै लोरेटालाई धेरैपटक आग्रह गरेका थिए– ‘म मरेपछि मेरो अस्तु नेपालमै लैजाउ। म यहाँको माटोसँगै मिसिन चाहन्छु।’

त्यसैले, आफ्नो जीवनभरको प्रेमलाई श्रद्धाञ्जली दिन लोरेटा फिलको अस्तु लिएर नेपाल आइन्। उनी सराङकोट डाँडामा पुगिन्। साथमा पर्यटन व्यवसायी हरि भुजेल, साथी विनय पौडेल र अमेरिकी मित्र सेरी पनि थिए।

श्रीमान्को तस्बिर अगाडि पुष्पगुच्छा अर्पण गर्दा लोरेटा थरथर काँपिन्। तस्बिरमा हाँसिरहेका फिललाई एकटकले हेरिरहिन्। आँखाभरि आँसु टिलपिल टिलपिल गरिरहे। मौनताबीच उनले फिललाई अन्तिम श्रद्धाञ्जली दिइन्।

जब अस्तु पोखराको माटोसँग मिसाइन्, उनको मन पनि त्यसैमा समाहित भयो। फिल अब चीरकालका लागि नेपालमै रहन आए।

‘फिलको आत्मा नेपालमै बाँचिरहनेछ’

होटल सञ्चालक हरि भुजेल भावुक हुँदै भन्छन्, ‘फिल जति सरल र मिजासिला थिए, त्यति नै नेपाललाई असाध्यै माया गर्थे। उनी नेपाली संस्कृति, खानपानमा रमाउँथे। आज लोरेटाले उनको अन्तिम इच्छा पूरा गरेर नेपालसँग उनको सम्बन्धलाई झनै गाढा बनाइदिएकी छिन्।’

विनय पौडेल भन्छन्, ‘फिल सधैं यहाँको माटोसँगै बाँचिरहने छन्। नेपालका पहाड, खोला, ताल, यहाँका हरेक मानिसको हृदयमा उनको आत्मा जिउँदो रहनेछ।’

एकै एयरलाइन्समा काम गर्दा शुरू भएको प्रेमले विवाहको रुप लियो। दुवैले संसार घुमे, सँगै बिताएका हरेक क्षण लोरेटाका लागि अमूल्य रहिरहे।

तर, अब उनलाई एक कुरा पछुतो लाग्छ।

‘मैले सन्तान जन्माउने चाहना गरिनँ। अहिले कताकता एक्लोपन महसुस गर्छु,’लोरेटा भन्छिन्।

उनको आवाज हल्का टुट्छ, तर आँखामा एउटा चमक देखिन्छ। ‘मेरो साथमा फिल छैनन्। तर, उनी टेकेको यो माटो, उनले हेरेका यी हिमाल, उनले मन पराएका यी मान्छे, यी हावा— यी सबै छन्। उनी अब नेपालमै छन्, सधैँका लागि।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit