Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

व्यावसायिक किसानलाई उद्यमशीलता ब्याजमा पाँच प्रतिशत अनुदान

व्यावसायिक किसानलाई उद्यमशीलता ब्याजमा पाँच प्रतिशत अनुदान
File Photo
विज्ञापन
Advertisement

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने निर्णय गरेको छ । यसका लागि गाउँपालिकाले एक सहकारी संस्थासँग सम्झौतासमेत गरिसकेको छ । गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा अनुदान प्रदान गर्न जिल्लास्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिका तथा सहकारीका पदाधिकारीद्वारा हस्ताक्षरित सम्झौतापत्रमा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ देखि स्थानीय बासिन्दालाई उद्यमशीलता विकास गरी व्यावसायिक बनाउन न्यूनतम छ महिनादेखि अधिकतम पाँच वर्ष अवधिका लागि प्रतिघरपरिवार अधिकतम २० लाख रुपैयाँ ऋण रकममा सहुलियत ब्याज अनुदान ऋण प्रदान गर्ने भएको हो । सहकारीले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने, उक्त कार्यक्रमका लागि गाउँपालिकाले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने र व्यवसाय गर्ने व्यक्ति तथा परिवारले जम्मा चार प्रतिशतमात्र ब्याज तिर्नुपर्ने उल्लेख गरिएको छ ।

स्थानीय कृषि उद्यमीलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०८० अनुरुप कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोको विपद्पछि खण्डहर जमिनलाई उर्बर एवं व्यावसायिक बनाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश युवा एवं किसानलाई व्यावसायिक बनाउने अभियानको प्रारम्भ यही कार्यक्रमबाट सुरु गरेको जनाएको छ ।

यहाँका अधिकांश नागरिक कृषिमा आबद्ध भएकाले गाउँपालिकालाई कृषिको क्षेत्रमा आत्मनिर्भर स्थानीय तहका रुपमा चिनाउन खोजिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । यस कार्यक्रमले स्थानीय किसानलाई उद्यमशीलता एवं व्यावसायिक किसान बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

यस्तै गाउँपालिकाद्वारा काभ्रेपलाञ्चोककै नमूना कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारप्रतिको आर्कषण कम गर्न तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी ब्याजमा अनुदान कार्यक्रम सुरु गरिएको जनाइएको छ । एक्काइसदेखि ४५ वर्षसम्म उमेर समूहका नागरिकलाई उद्यमी बनाउन व्यावसायिक कर्जामा ब्याज अनुदान उपलब्ध गराउन स्वीकृत कार्यविधीअनुसार गाउँपालिकाले सहुलियत कर्जा प्रवाहमा सहकार्य गर्न वित्तीय संस्था छनोट गरेको थियो ।

नेपाल सरकारबाट मान्यता प्राप्त कृषि व्यवसाय, मसला बाली तथा बीउबिजन उत्पादन एवं प्रशोधन भण्डारणका लागि दुई वर्ष अवधिको सहुलियत कर्जा उपलब्ध हुने जनाइएको छ । यस्तै तरकारी उत्पादन प्रशोधन तथा भण्डारण, बीउबिजन उत्पादन तथा भण्डारण, पुष्प व्यवसाय, फलफूल उत्पादन–प्रशोधन र भण्डारण, दुग्ध उत्पादन प्रशोधन–बिक्री वितरण छनोटमा पर्नेछन् ।

यसैगरी पशुबधशाला एवं मासुजन्य उत्पादन व्यवस्था, जडीबुटी उत्पादन–प्रशोधन र भण्डारण, उखु, कोदो, मकै, अलैँची, अकबरे खुर्सानी, अदुवा, चियाखेतीको प्रशोधन–भण्डारण र बिक्री वितरण, मौरीपालन, जौँ, फापर, सिलाम, सिमी, आलु, कागती र स्याउको उत्पादन, भण्डारण तथा बिक्री वितरण, तरकारी बालीको उत्पादन, प्रशोधन, भण्डारण तथा कृषि उत्पादन र सङ्कलन एवं बिक्री वितरणका लागि एक वर्षसम्मको सहुलियत कर्जामा अनुदान उपलब्ध गराइने छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit