
काठमाडाैं । कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र लय उन्मुख गतिमा छ । सन् २०२४ नेपाली पर्यटनका लागि सुखद बनेको तथ्यांकले देखाउँछ । गत वर्षमा विभिन्न देशबाट करिब साढे ११ लाख पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या अघिल्लो वर्ष २०२३ को तुलनामा १३ प्रतिशतभन्दा बढी हो । त्यस्तै पर्यटन मन्त्रालयले सन् २०२५–३५ लाई पर्यटन दशकका रूपमा मनाउने बताउँदै आएको छ ।
फेब्रुअरी, मार्च–अप्रिल नेपालको मुख्य पर्यटन सिजन पनि हो । यसै मौसममा सर्वोच्च शिखर सगरमाथामा मुख्य आरोहण हुन्छ । साथै, पदयात्राका लागि लाखौं पर्यटक नेपाल आउने गर्छन् । सरकारले हरेक वर्ष पर्यटन क्षेत्रलाई समेटेर बजेट, नीति, कार्यक्रम ल्याउने गरेको भए पनि ती पूर्णरुपमा कार्यान्वयनमा भने आउँदैनन् । नेपालको आर्थिक क्षेत्रलाई गतिशील बनाइराख्ने भूमिका खेल्ने पर्यटन क्षेत्रमा राज्यले दिर्घकालीन नीति, पूर्वधार र पर्यटन सेवा, होटल सुविधामा ध्यान पुर्याउन नसक्दा सरकार आफैंले राखेको लक्ष्य अनुसार पर्यटक नेपाल ल्याउन सकेको छैन् । पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने सुधार र दिर्घकालीन नीतिका लागि सरकारले के कस्तो काम गर्नुपर्छ ? अबकाे रणनीति कस्ताे हुनपर्ला ? लगायत विषयमा केन्द्रित रहेर कर्पोरेट खबरका लागि होटल एसोसिएसनका अध्यक्ष विनायक शाहसँग भोजराज भण्डारीले गरेको कुराकानीको सार :
अहिले सबैतिर आर्थिक मन्दी भइरहेको अबस्थामा एउटा होटल तथा पर्यटन क्षेत्र चलामायन छ भनिन्छ, के साच्चै चलायमान भइरहेको छ नेपालकाे पर्यटन क्षेत्र ?
सरकारले सार्वजनिक गर्ने तथ्यांकहरुमा सबै कुरा राम्रा देखिन्छन्, सुन्दर लाग्छन् । अब त्यो भन्दा बाहिर बसेर हेर्ने हो भने कोभिडपछिको तुलनामा अहिले आइरहेको पर्यटक संख्या नकारात्मक हाेइन, राम्राे सुन्दर हाे । देशमा पर्यटकको संख्या पनि भित्रिएकै छन्, रेमिट्यान्स पनि बढेको छ । तर, हामी काम गर्ने व्यवसायी र आम नागरिकले त्यो तथ्यांकमा बढेको संख्यालाई व्यवहारमा अनुभूति गर्न पाएका भने छैनौं । बन्द व्यापारमा वृद्धि भएको छैन । नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिको संवाहक हो । विश्वभरबाट नेपालमा पर्यटक त आइरहेकै छन् । जति आउनुपर्ने हो त्यति आउन सकेको छैनन् । त्यो ल्याउने वातावरण पनि हामीले बनाएका छैनौं ।
अर्को हामी दुई ठूला राष्ट्र भारत र चीनको बीचमा छौं । त्यहाँका नागरिकहरु वर्षमा करोडौंको संख्यामा घुम्न निस्कन्छन् । ती दुबै छिमेकी देशका पर्यटकलाई हामीले लक्षित गरी नेपालमा ल्याउन सक्ने हो भने पर्यटन क्षेत्रमा विकासले गति लिन्छ । तर, पर्यटकका लागि आवश्यक वातावरण र सडक लगायतका पूर्वाधार हामीले राम्रोसँग व्यवस्थित गर्न सकेका छैनौं । नेपालमा आएका पर्यटकका लागि गर्नुपर्ने भनेकै पूर्वाधारमा लगानी हो ।
हामीले ३५ लाख ग्राहकलाई स्तरीय सेवा दिन सक्छौं । २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल आएका छन् । हाम्रो क्षमता भन्दा एकतिहाई मात्रै पर्यटक आउँदा भएको क्षमताकै उपयोग हुन सकेको छैन भने यस्तो अवस्थामा कुनै पनि व्यापार व्यवसाय लामो समयसम्म चल्ने सम्भावना निकै कम देखिन्छ । मुख्य समस्या यही हो ।
सरकारले लक्षित गरेको पर्यटक नेपाल आउने हो भने होटल पूर्वाधारतर्फ गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न सक्ने क्षमता छ ?
यो क्षेत्रमा धेरै ठूलो लगानी भइरहेका छन् । संसारभर नाम कहलिएका पाँँच तारे होटल नेपालमा खुलेका छन्, त्यसको संख्यामा वृद्धि भइरहेकै छ । अबको दुई वर्षमा नेपालमा पाँच तारे होटलको संख्या दोब्बर हुन्छ । लगानी प्रशस्त भएको छ । त्यो हिसाबले हेर्ने हो भने होटल पूर्वाधारको कुरामा लगानी निकै राम्रो भएको छ, हामी सेवा प्रवाह गर्ने हिसाबले सक्षम छौं । एक जना पर्यटक नेपाल आउँदा पर्यटन र होटल क्षेत्रसँगै अन्य क्षेत्रहरु कृषि, बैंक, यातायात, हवाई आदिलाई समेत चलायमान गराउँछ । तर, हाम्रो राष्ट्रिय नीतिले अझै सबैलाई जोड्न सकिराखेको छैन । अब राष्ट्रिय नीति र कार्यनीतिमा अझै राम्रोसँग काम गर्नुपर्ने देखिन्छ । कतै न कतै हामी एकीकृत हुन सकिराखेका छैनाैं कि! । होटलले खाने बस्ने सेवा प्रवाहमा काम गरेको छ, एयरलाइन्सले आफ्नो काम गरिराखेको छ । त्यस्तै ट्राभल्स र ट्रेकिङ एजेन्सीहरुले पनि आ– आफ्नो ठाउँबाट काम गर्दै आजको दिनसम्म हामी आइपुगेका छौं ।
तर, सरकारको राष्ट्रिय नीतिमै कति संख्यामा पर्यटक ल्याउने भन्ने प्रष्ट छैन । सरकारको एउटा तथ्यांकले २० लाख पर्यटक ल्याउने भनिरहँदा अर्कोले १६ लाख भनेको पाइन्छ । हामी निजी क्षेत्र चाँही ३५ लाख पर्यटकलाई गुणस्तरीय सेवा दिन सक्षम छौ भनिराखेका छौं । यो सन्दर्भमा राष्ट्रिय योजना र कार्यनीति आजको दिनमा स्पष्ट छैन, त्यसलाई नीतिगत रुपमै प्रस्ट पार्न जरुरी छ ।
सरकारको वार्षिक २० लाखको संख्यामा पर्यटक भिर्याउने लक्ष्य राखेरै पर्यटनमैत्री वातावरण बनाउन लागेको बताइरहँदा तपाइँहरु किन गर्न सक्ने नीति भएन भन्नुहुन्छ । खासमा कहाँनिर हो निजी क्षेत्र र सरकारको बीचमा तालमेल नमिलेको ?
खासगरी सडक पूर्वाधार र कनेक्टिभीटि मै हो समस्या देखिएको । हामीसँग धार्मिक प्राकृतिक पर्यटकको सम्भावना निकै बलियो हुँदाहुँदै पनि जति मात्रामा पर्यटकको संख्या ल्याउन सक्थ्याैं त्यो भएकै छैन । होटल मात्र खुलेर भएन राजधानीमा त ग्राहक होलान तर, देशैभर मोफसलमा खोलिएका होटललाई पुग्ने पर्यटक खै ? हामीकहाँ भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक सडकमार्गबाट आउन तयार छन्, तर निर्माणाधीन काठमाडौं–पोखरा–चितवन जोड्ने मुख्य राजमार्गको हालत हेरौं त ! तीन वर्षमा काम सम्पन्न गर्ने भनिएको पोखरा–मुग्लिन सडकको स्तरोन्नती ६ वर्षसम्म पनि सकिएको छैन ।
यसले भारतबाट आउने पर्यटकलाई मात्र होइन, बाई एअर काठमाडौं आएका विश्वका अन्य देशका पर्यटकलाई समेत प्रभाव पारेको छ । पर्यटक मात्र होइन राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको गौरवको आयोजनाको समेत यो हाल हुन्छ भने बाहिरी जिल्लाहरुमा निर्माण भइरहेको पर्यटन पूर्वाधारले विकासको गति कसरी समात्छ ?
यस्तै, त्रिभूवन विमानस्थल स्तरोन्तीपछि आजबाट (चैत १९) पूर्ण सञ्चालनमा आउँछ । यो सँगै निर्माण सम्पन्न भएका पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल खै सञ्चालनमा ल्याउन सकेको? बाई एअर होस् वा बाइ रोड दुबै हिसाबले काठमाडौं राम्रोसँग बाहिरी जिल्लासँग जोडिन नसक्नुनै समस्याको रुपमा देखिएको छ । चीन भारतका मात्र होइन विश्वभरका पर्यटक नेपालमा आउन लालायित छन्, उनिहरुलाई ल्याउने कसरी र यहाँ खर्च गराउने कसरी भन्ने नै समस्या हो । विमानस्थल स्तरोन्नतीको लागि भनेर १० घण्टा मात्र सञ्चालनमा ल्याइएको छ, भारत जाने पर्यटकले ६० हजार रुपैयाँ सम्महालेर टिकट लिए । पर्यटकले एयर टिकटमा ८० प्रतिशत रकम खर्च गरेर २० प्रतिशत मात्रै यहाँ खर्च गर्ने थाले भने त कसैलाई पनि फाइदा हुँदैन । मुख्य कुरा नेपालमा आएका पर्यटकलाई कहाँ र कुन हिसावले खर्च गराउन सकिन्छ, त्यतातिर पनि सरकारले व्यवस्थित रुपमा सोच्नुपर्ने बेला आएको छ ।
सरकारले (२०२५ देखि २०३५) सम्म १० वर्षलाई पर्यटन दशक घोषणा गरेको छ तर, यसका लागि के कसरी काम भैरहेका छन् थाहा छैन । मन्त्रीले घोषणा गरिदिएर मात्र पुग्ने होकि, राष्ट्रिय कार्यनीति आवश्यक पर्ने हो ?
तीनै तहका सरकार, निजी क्षेत्र र विकास साझेदार मिलेर प्रत्येक वर्ष गरिने कार्यको योजनाबद्ध प्रारुप तयार पारी काम गरेमात्र अगाडी बढ्न सक्छौ । विशेषगरी पर्यटकको बसाई अवधी कसरी लम्ब्याउने र कसरी खर्च गराउने भन्ने विषयमा योजना सहित सरकार र निजी क्षेत्रले मिलेर अगाडी बढ्नै पर्छ । नेपाल आएर ट्रेकिङ रुटमा हिमाली क्षेत्रमा जाने, पशुपतिनाथ, लुम्बिनी, चितवन र पोखरा मात्र होइन सातै प्रदेशमा सरकारले पर्यटकीय सम्भावनालाई मध्येनजर गरेर काम गरिराखेका छन्, त्यसलाई जोड्न केन्द्र सरकारले गम्भीरतापूर्वक लिएर काम गर्नुपर्छ ।
चार घण्टामा काठमाडौंबाट पोखरा पुग्नुपर्ने पर्यटक १०/१२ घण्टासम्म धुलोमा जाममा बसिरहने हो भने तिनले न राम्ररी घुम्न पाउँछन् न रमाउन सक्छन् । त्यसैले सरकारी निकायबीचमा पनि आपसी समन्वय र काम गर्ने तदारुकता हुन आवश्यक छ । नेपालमा सम्भावना प्रचुर छ, त्यसको उचित उपयोग गर्न हामी सबैले जान्नुपर्याे ।
सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा पनि नयाँ पर्यटन नीति, निजीक्षेत्र लक्षित विभिन्न कार्यक्रमहरु ल्याउँछ, ति कार्यान्वयन हुँदैन, आगामी वर्षका लागि पनि बजेट तयारी तिब्र छ अपेक्षा के के छन्?
बजेटको सन्दर्भमा मन्त्रालयबाट छलफल भइरहन्छन् । सुझाव मागिन्छ, हामी दिन्छौ, उनीहरु लिन्छन् तर, खोस्टा बनेर आउँछन्, ति केबल दस्तावेजमै सिमित हुन्छन् । जुन कुरा बजेटमा आउँछ, त्यसको कार्यान्वयन पक्ष के हो भन्ने नै प्रश्न बन्ने गरेको देख्छु । यस अघि आएका विषय लागू भयो वा भएन भन्ने कुराको लेखाजोखा काँही कतैबाट हुँदैन । कहाँ आयो कार्यक्रम र योजना कहाँ पुग्यो भन्ने थाहै हुँदैन । अब बजेट आउनुपूर्व एउटा आर्थिक सर्वेक्षण आउँछ त्यसमा यो यो कार्यक्रममा यस्तो भयो भनेर एउटा तथ्यांकजस्तो प्रस्तुत हुन्छ अनि सकिन्छ एक वर्षको बजेट ।
पर्यटनको विकासमा नीति तथा कार्यक्रम र बजेटमा नाराले मात्र विकास हुँदैन । सरकारी नीति, नियम, योजना, कार्यक्रम जेजे आएपनि त्यसको पूर्ण अनुगमन गर्ने संयन्त्र हुनैपर्छ । अन्य क्षेत्रकै अनुगमन संयन्त्र निकै कमजोर अवस्थामा छ । अब संयन्त्र बनाउँदा बलियो र निजी क्षेत्रको समेत प्रतिनिधित्व हुनुपर्छ भन्ने लाग्छ ।
होटल व्यवसायीले ठूलो संख्यामा पर्यटकलाई राख्न र आवश्यक सेवा सुविधा दिन सक्षम छौं भनिरहँदा पर्यटकहरु ठगिएको, रकम बुझाए अनुसार राम्रो सेवा सुविधा नपाएको, उनिहरु माथि गरिने व्यवहार उचित नभएको लगायतका विभिन्न कुराहरुमा प्रश्न उठ्ने गरेका छन् । यतातिर निजी क्षेत्रले पहल कदमी लिन सकेन भन्ने आवाज सुनिएका छन् नि ?
समस्या हरेक क्षेत्रमा हुन्छन् यहाँ पनि होलान् । त्यसलाई कसरी छिटो भन्दा छिटो समाधान गर्न सकिन्छ भनेर लाग्ने कुरा नै महत्वपूर्ण हो । होटल व्यवसायी र कर्मचारी सबै ठाउँका असल छन् भनेर ग्यारेन्टी लिन नसकिएला तर, घर खेत राखेर ठूला लगानी गरेकाले आफू डुब्छु भनेर काम गर्ने त पक्कै होइनन् । देशमा कानून छ, व्यवसायीले गलत गरेका छन् भने कारबाही गर्नुपर्छ । निजी क्षेत्र भनेको नाफामूखी हुन्छ । आजको मितिसम्म आइपुग्दा देशको राष्ट्रिय बजेट जति लगानी होटल व्यवसायीले पूर्वाधार निर्माणमा गरेका छन् । देशमा जति धेरै संख्यामा पर्यटक ल्याउन सक्यो उति नै मात्रामा पर्यटन क्षेत्र सँगै देशको अर्थतन्त्रमा फाइदा पुग्ने हो। यसका लागि सरकार र निजी क्षेत्र दुबै मिलेर काम गर्नुपर्छ । नेपालमा नारा धेरै भयो, कार्यान्वयन पक्ष कमजोर, त्यहाँ ध्यान दिएर सुधार गर्न लाग्नुपर्छ । सबै क्षेत्रले मिलेर काम नगरेसम्म पर्यटन क्षेत्र अगाडी बढ्न सक्दैन ।
सरकारले आगामी वर्षको बजेट तजुर्मा गर्दा कनेक्टिभिटीको पक्षमा ध्यान दिनुपर्छ । मुख्यगरी पोखरा र भैरहवाको दुई विमानस्थललाई चाँडो सञ्चालनमा ल्याउने हो भने अबको एक वर्षमै अहिलेको दोब्बर संख्यामा पर्यटकहरु नेपाल भित्रिन्छन् । अब पर्यटन बोर्डको केन्द्रविन्दुमा भारत र चीन पर्ने हो भने त्यहाँबाट धेरै पर्यटन आउँछन् । यसपाली चिनले ‘भिजिट नेपाल इयर इन चाइना–२०२५’ भनेरै घोषणा गरेको छ, त्यसका लागि हामीले के गरिराखेका छौं ? चिनियाँ बजारमा पुगेर हामीले हजारौँको संख्यामा पर्यटन ल्याउन सक्थ्यौं तर, सरकारी संयन्त्रबाट केही काम भएको छैन, हामी निजी क्षेत्रले सकेको गरिराखेकै छौं ।
एउटा उदारण दिन्छु जसले पर्यटन क्षेत्रमा कतिसम्म असर गर्छ पूर्वाधारले भनेर प्रस्ट पार्छ । गत वर्षा याममा त्रिशुलीमा दुईवटा बस बेपत्ता भए, भारतीय नागरिक पनि त्यहाँ परे, त्यसले के सन्देश गयो भने नेपालको सडक यात्रा जोखिमपूर्ण छ भन्ने सन्देश भारतीयमा गयो । यी घटनाले पर्यटकलाई बाइरोड सुरक्षा छैन भन्ने खालको नकारात्मक प्रभाव उनिहरुमा परेको देखिएको छ । यस्ता साना साना कुराहरुमा हामीले ख्याल गर्नुपर्ने हुन्छ । सकेसम्म सरकारले त्यस्तो नकारात्मक भ्रमलाई स्पष्ट पारेर नेपाल सबै पर्यटकका लागि महत्वपूर्ण र राम्रो गन्तव्य हो भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ ।
नेपालमा ठूलो संख्यामा होटल व्यवसाय सञ्चालनमा छन् । रोजगारी अवसरको खोजिमा कयौं युवा विदेश जान दैनिक एअरपोर्टमा लाइनमा बसेको भेटिन्छन् । यहाँ खुलेका होटल व्यवसायलाई पर्याप्त दक्ष जनशक्ति छन् ?
यो सेवामूलक उद्योग हो । हामीलाई चाहिने दक्ष युवा जनशक्त्ति विदेशिने क्रम एकदमै बढेको छ । हरेक दिन एअरपोर्टबाट २ हजार बढीको संख्यामा युवाहरु भविष्य खोज्न विदेश उडेका छन् । तर, यहाँ हामीले खोजेको दक्ष जनशक्ति पाउन सकेका छैनाैं । कम्तिमा एक वर्ष नेपालमा काम गरेर अनुभव लिएर विदेशै गए पनि युवासँग सीप त हुन्छ । सीप भयो भने उनिहरुले बाहिर गएर सोही अनुसारको काम त गर्न सक्छन् । युवाको सीप विकासमा सरकार र हामीले ध्यान दिनुपर्छ । नेपाल आएका पर्यटकलाई हामीले उनिहरुले खोजेको सेवा दिन सकेनौ भने उनिहरु सिफ्ट हुन्छन् । देशमै पनि एउटा होटलमा सेवा राम्रो नपाए अर्कोमा जान्छन् नि, त्यस्तै देशमा आउने पर्यटक यहाँ केका लागि आए, के लिएर जान्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले एअरपोर्टमा पर्यटक ओर्लिए देखि उनिहरुलाई गरिने व्यवहार, स्वागत सत्कार, सेवा सुविधा राम्रो भएन भने उनिहरु अर्को चोटी यहाँ आउन चाहँदैनन्, त्यसले हाम्रो व्यवसायलाई नै असर गर्ने हो । बजारमा माग देखेरै लगानीकर्ताले एकपछि अर्को ठूला ठूला होटलमा अर्बौ लगानी गरेका छन् । हामीले पूर्वाधार र ‘कनेक्टिभिटी’लाई मात्र ध्यान दिने हो भने पनि टाढा जानै पर्दैन भारत र चीनबाट मात्रै ३० लाख पर्यटक ल्याउन सक्छौं । अहिले नै हामीसँग ३५ लाख पर्यटनलाई सेवा दिने क्षमता छ । अबको १० वर्षमा ५० लाख पर्यटक नेपाल ल्याउने गरी सरकारी योजना आउनपर्यो । त्यही हिसाबमा हामीले पनि क्षमता विस्तार गर्दै जान्छौं । पर्यटकको बसाई अवधि र खर्च बढाउने योजना सरकारी तवरबाट योजनाबद्ध रुपमा आउने हो भने पर्यटन क्षेत्र अगाडि जान सक्छ ।
प्रतिक्रिया दिनुहोस्