दाङ । लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर ६ वर्ष अगाडि नेपाल आए। घर फर्किएपछि के काम गर्ने भन्ने अन्योल भएको उनलाई साउदीमा खेती गरेर आत्मनिर्भर बनेको देखेकाले नेपालमै खेती गर्ने सोचाइ बनाए ।
नेपालमा कृषिमा सम्भावना देखेकाले परीक्षणका लागि आफूले बगरमा तरबुजा खेती गरेको उनले बताए । लमही नगरपालिका–६ ढिकपुरमा रहेको राप्ती नदीको बगरको १५ बिघा जमिनमा तरबुजाखेती अहिले हराभरा भएको छ । नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी बगरखेती सञ्चालन गरेको पौडेलले जानकारी दिए ।
उनले नेपालको जमिन बाँझो राखेर अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा काम गर्न युवाहरुलाई सल्लाह दिए । युवा पलाएन रोकेर आफ्नो माटो हराभरा गरायो भने काम पनि हुने र आम्दानी पनि हुने उनको भनाइ छ । हाल पाँचजना स्थानीयलाई कृषि फार्ममा रोजगारी दिएको र आफूले पनि खटेर काम गर्ने गरेको उनले बताए । लगानीकर्ता पनि कामदार पनि दुवै बनेर खेतीपातीलाई समय दिने गरेको उनको भनाइ छ ।
सोही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्केर तरबुजा खेतीमा लागेका छन् । उनी चार वर्ष दुबई बसेर फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भनेर साथीहरुले सुरु गरेको तरबुजा खेतीमा जोडिएका छन् । फल दिँदै गरेका बिरुवाले हरियो भएको राप्तीको बगर लमहीमा रहेको उद्यमी बहुउद्देश्य सहकारीको व्यवस्थापनमा निजी कृषि फार्म तथा विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी खेती सञ्चालन गरेको उनले बताए ।
लमहीमा रहेको उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरबुजाखेती सुरु भएको सहकारीका सचिव विश्वप्रकाश अधिकारीले जानकारी दिए । “सहकारीले जग्गा खोज्ने काम गरेको थियो, स्थानीय युवाले खेती गर्ने सोचाइले जग्गाको माग गर्नुभयो र जग्गा उपलब्ध गराएको हो,” उनले भने ।
गर्मीको समयमा प्रशस्त फल्ने भएकाले दाङको हावापानीमा तरबुजा उत्पादन राम्रो हुने हुन्छ । प्रतिबिघा चार लाखदेखि पाँच लाख रुपैयाँ सम्म आम्दानी हुने आशा रहेको उनले सुनाए । बगरमा मल्चिङ, खाल्डा खन्ने प्रविधि र लाइन बनाएर लगाउने तीन तरिकाले तरबुजा रोपण गरिएको छ । मल्चिङ प्रविधिबाट दाङमा तरबुजा खेती हुने गरेको छैन, यो नै पहिलो अभ्यास भएको अधिकारीले बताए ।
हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरि छ जातको तरबुजा रोपिएको छ । छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरबुजाखेती गरेको उनले बताए । उत्पादन भएको तरभुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवल लगायतका सहरमा बिक्री गर्ने तयारी रहेको उनिहरु बताउँछन् । प्रदेश र स्थानीय सरकारले स्वदेशमै केही गर्न चाहने किसानलाई प्रोत्साहन गरेमा व्यवसायलाई निरन्तरता दिन सकिने उनिहरुको धारणा छ ।
















प्रतिक्रिया दिनुहोस्