काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरी खतिवडाले दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै आएका शिक्षकहरूलाई व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
खतिवडाले शिक्षकहरू कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको उल्लेख गरे । उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातावरण बनाउनुपर्नेमा जोड दिए।
यस्तै, सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका छन् । उनले भने, “पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ । त्यसो भए मात्रै प्रतिपक्षीका माननीयले राखेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको अर्थ हुनेछ ।” उनले ‘शिक्षक महासंघका नेता बैठकबाट बाहिर आएपछि समस्या ज्युँका त्युँ रहने भन्दै त्यो समस्या किन भइरहेको छ ? भन्दै प्रश्न समेत गरे ।
यसैगरी प्रतिनिधि सभाकै शून्य समयमा बोलेका सांसदहरुले पनि शिक्षकको माग चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताइा् । उनले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न समेत आग्रह गरिन् । सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको भन्दै शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताए । यस्तै, सांसद मनबहादुर गुरुङले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनिष झाले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पुनः माग गरेका छन् । सांसद महेन्द्रबहादुर शाहीले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेशकुमार बर्तौलाले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको निजगढ ‘फास्ट ट्र्याक’ समयमै निर्माण गर्र्नुपर्ने बताए । उक्त सडकखण्ड झण्डै ५३ किलोमिटर मकवानपुरमा पर्ने भएकाले सिस्नेरी दोभानबाट पहुँच विन्दु फास्ट ट्र्याकसँग जोड्न सके ललितपुर, मकवानपुर, धादिङ र चितवनलाई लाभ मिल्ने सुझाव उनले दिए ।















प्रतिक्रिया दिनुहोस्