Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अर्घाखाँचीबाट पोखरा पुगेका ओमप्रकाश पाण्डे यसरी बने ६ वटा होटलको मालिक

अर्घाखाँचीबाट पोखरा पुगेका ओमप्रकाश पाण्डे यसरी बने ६ वटा होटलको मालिक
विज्ञापन
Advertisement

चितवन। उच्च शिक्षा अध्ययनका लागि पोखरा पुगेका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ । पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्ने क्रममा २०४५ सालमा होटलबाट काम सुरु गरेका पाण्डे हाल स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका पाण्डेको अहिले छ वटा होटल सञ्चालनमा छन् । पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पर्यटन व्यवसायी पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिइरहेका छन् । उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुगेका पाण्डेले विज्ञानमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उनलाई आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित गरेको उनी बताउछन् । सुरुमा एक लाख ५० हजार लिएर पोखरामा भाडामा होटल सञ्चालन गरेका उनले विभिन्न आरोहअवरोहका बीच चार वटा होटल चलाए । व्यवसायमा आएपछि उनले कहिले कमाए भने कहिले गुमाएको अनुभव संहालेको बताए । “होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुप¥यो । पछिल्लो होटलले राम्रै कमाइ ग¥यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।”

भाडामा होटल चलाउँदै आएका पाण्डेले २०६२ सालमा केही नगद र बैंकबाट ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किने । एक करोड ५० लाख रुपैयाँमा बैंकको ऋणमा किनेको २३ कोठे उक्त होटललाई विस्तार गर्दै अहिले १०० कोठाको चार तारे होटलमा स्तरोनन्ति गरिएको छ । होटल व्यवसायतर्फको उनको यात्रा निरन्तर अघि बढिरह्यो । पाण्डेले यसैक्रममा पर्यटकीयस्थल चितवनको सौराहामा पनि २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरी आफ्नो व्यवसायलाई थप विस्तार गरे । सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गर्दै आएका पाण्डेको अहिले काठमाडौं, दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालनमा छ ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया पाण्डे आफैँ साहु र कामदारको भूमिकामा रमाउन सकेकाले यस व्यवसायमा सफल भएको बताए । उनले भने, “अहिले पनि उहाँको सिङ्गो परिवार तनमनका साथ काममा खटेकै देखिन्छ, इमानका साथ निरन्तर खटे सफल भइन्छ भन्ने यथार्थलाई कर्मले प्रमाणित गर्नुभएको छ ।” निरन्तरको सङ्घर्षका कारण पाण्डे सफल व्यवसायी बनेको उल्लेख गर्दै उपाध्यक्ष थपलिया एउटै बाबुका छोरा–बुहारी, नाति–नातिना सबै मिलेर पेसाप्रति समर्पित हुनु उदाहरणीय काम भएको बताउछन् ।

यसैगरी गत वर्षबाट भैरहवाको एक होटलमा उनले व्यवस्थापन हेर्दै आएका छन् । यस्तै यसै महिनाबाट भरतपुरको होटल रोयल सेञ्चुरीलाई भाडामा लिएर नारायणी ल्याण्डमार्कको नामबाट सञ्चालन गर्न सुरु गरेका उनले तनहुँको देवघाटमा पनि अर्को होटल भाडामा लिएर ल्याण्डमार्क फार्म हाउस नामबाट सञ्चालन गरेका छन् ।
वीरगञ्ज, जनकपुर र नगरकोटमा पनि सकभर होटल सञ्चालन गर्ने त्यो सम्भव नभए व्यवस्थापन हेर्ने गरी छलफल अघि बढिरहेको उनले बताए । पर्यटन व्यवसायी पाण्डेले सञ्चालन गरेका होटलहरुमा अहिले ३५० कोठा क्षमता छ भने झण्डै ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्षसमेत रहेका पाण्डे यसअघि सङ्घको उपाध्यक्ष थिए। उनी ‘नेपाल टुर एण्ड ट्राभल’ गण्डकी प्रदेशको पूर्व अध्यक्ष समेत हुन् ।
परिवारका सदस्यहरूलाई सँगै लिएर यस क्षेत्रमा होमिएका पाण्डेका तीन दाजुभाइ होटल व्यवसायमा सँगै छन् । त्यसो त तीन दाजुभाइका तीन छोरा पनि प्रत्यक्षरुपमा यही व्यवसायमा जोडिएको उनले बताए । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको पर्यटन व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना र समाज सेवाका क्षेत्रमा पर्यटन व्यवसायी पाण्डेको अतुलनीय योगदान रहेको बताए ।

परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म, दृढ इच्छाशक्ति, व्यावसायिक घरानामा जन्म नभए पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट पाण्डे सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागि रहे सफल पनि भइने पाण्डे बताउछन् । उनले भने, “व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।” नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि अर्घाखाँचीको सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी पाण्डे उदाहरणीय पात्र हुन् । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit