काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । यद्यपी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई रास्वपाले विवेकका दृष्टिबाट अपूर्ण रहेको बताएको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ,’ रास्वपाले भनेको छ ।
यस्तै, रास्वपा केन्द्रीय समितिले लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियानको सञ्चालन गर्ने झाले बताए ।
यस्तै, भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशन समेत दिएको छ ।केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा बैठकले अनुमोदन गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्