धरान (सुनसरी) । नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दो छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् ।
अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखु खेतीमै रमाइरहेका छन् । उनको रोजगारीको जोहो र जीवन गुजारालाई विदेशको मोहले होइन कृषिले घि बढाइराखेको छ । उनले भने, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन ।” उनले तीन वर्षपहिले दुई लाख ५० हजार रुपैयाँ लगानीबाट अढाई बिघा जमिनमा उखुखेती सुरु गरे । अहिले लगानी बढाएको सुनाएका उनले उखुखेतीबाटै वार्षिक पाँच लाख बढी आम्दानी गरिरहेको बताए ।
“उखुखेतीमा मजदुरको अभाव भने हुँदैन, मजदुर पनि पाइन्छ । जलवायु परिवर्तनले भने चुनौती थपिरहेको छ,” उनले भने । उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले भने प्रत्यक्ष प्रभाव पारिरहेको उनको अनुभव छ । विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुदाँ बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या हुने गरेको महतोले बताए । “यस्ता असमान्य मौसम परिवर्तनले प्रभाव पार्दा दीर्घकालीन रुपमा उत्पादनमा गिरावट ल्याउनसक्ने सम्भावना भने बढाएको छ ।”
महतोको अनुसार यो खेतीमा सफल हुन आधुनिक ज्ञान र जलवायु अनुकूल रणनीति अवलम्बन गर्नु आवश्यक पर्छ । “उखुखेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा अ छ”, उनले भने । यसो गर्दा उत्पादनमा अझ वृद्धि हुनसक्ने उनको भनाइ छ । उनका अनुसार उखु रोपेको नौदेखि १० महिनामा काट्न मिल्ने हुन्छ । उखु रोपाइँको उपयुक्त समय फागुनदेखि चैतसम्म मानिन्छ । यो समयमा रोपिएको उखु मङ्सिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ । अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखुखेती गर्न सहज हुने उहाँले बताए ।
उनले भने, “बिक्रीका लागि बजारको समस्या भने हुँदैन, वार्षिक रुपमा एक हजार १०० देखि एक हजार २०० क्विन्टल बढी उखु उत्पादन हुँदै आएको छ ।” उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा बिक्रीका लागि जाने गरेको उनले बताए । महतोका अनुसार अहिले उखु प्रति क्विन्टल ६८५ रुपैयाँमा बिक्री भइरहेको छ । उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उनी सुनाउँछन् । उनले भने, “केही वर्षअघिसम्म प्रतिक्विन्टल ६०० रुपैयाँ सम्ममा उखु बेच्नुपथ्र्यो, अहिले मूल्य बढेको छ, यसमा म सन्तुष्ट छु । मूल्य सरकारले नै तोक्ने भएकाले हामी किसानहरुलाई स्पष्ट हुन्छ अनि व्यापारी र हामी किसानमा मूल्यको मोलमोलाइ हुँदैन ।” प्रत्येक वर्ष सरकारले मूल्य घोषणा गर्छ । सोही अनुसार चिनी उद्योगहरुले किसानसँग उखु खरिद गर्ने गरेको उनले बताए ।
मकै, धान र कोदोको भन्दा कम लगानी तथा श्रम पनि कम लाग्ने साथै सरकारद्वारा मूल्य निर्धारण हुने हुँदा विश्वसनीयता हुनाका साथै सिधै चिनी मिलहरुसँगको सहकार्यले पनि उखुखेतीप्रति आफूलाई सहज र आकर्षित बनाएकाले उखुखेती गर्ने गरेको उनले सुनाए । महतोका अनुसार वर्षमा आठ लाख बढीको उखु उत्पादन हुने गरेको छ । त्यसमा मल, मजदुर, गाडी भाडालगायतमा करिब दुई लाखदेखि दुई लाख ५० हजारसम्म खर्च हुने गरेको छ । बाँकी पाँच लाख बढी बचत हुँदा घर व्यवहार चलाउन सजिलो हुनाका साथै मेहनत अनुसारको आम्दानी हुने गरेको उनले बताए । मौसमले साथ दिए अनि उखुमा रोग नलाग्ने हो भने अझ बढी आम्दानी हुने उनको विश्वास छ ।
“अहिलेसम्म उखु उत्पादन राम्रै भइरहेको र आम्दानी पनि राम्रै दिएको छ, केही वर्षपछि थप अझ बढाएर उखुखेती विस्तार गर्ने सोचमा छु”, उनले भने, “पहिले अरू खेती गर्दा सोचेजस्तो आम्दानी हुन नसक्ने, दुःख र मेहनत लागे पनि उखुखेतीबाट भने कम लगानी कम मेहनतले आम्दानी भएपछि केही स्थायित्व आएको महसुस भने भएको छ ।”
उनका अनुसार उखु काट्ने समयमा ६० जनाभन्दा बढी कामदारलाई दैनिक ७०० ज्याला दिएर कामदार लगाइन्छ छभने उखुमा मल लगाउने समयमा दैनिकजसो छजना बढी कामदार राख्ने गरेको उनले सुनाए । “मजदुरको अभाव भने खासै हुँदैन, ज्याला भने पहिलेको भन्दा अलिक वृद्धि भएको छ । आफूलाई देशमा काम गर्ने मन र केही मेहनत भए आफ्नै देशमा धेरै सम्भावना छन्, मैले उखुखेतीबाट वर्षमा लाखौँ कमाइरहेको छु, विदेश गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर कमाउनु गर्वको कुरा हो, विदेश पलायन हुनुभन्दा अगाडि एक पटक खेतबारीमा पनि फर्केर सोच्नुपर्छ सम्भावना धेरै छ ।”















प्रतिक्रिया दिनुहोस्