Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यो वर्ष २२६ टन मह उत्पादन, उपभोक्ताको विस्वास र बजारीकरणको अभावमा २१ टन मह थन्कियो

यो वर्ष २२६ टन मह उत्पादन, उपभोक्ताको विस्वास र बजारीकरणको अभावमा २१ टन मह थन्कियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् ।

मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ । उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तर्क्रियाका साथै बजारीकरणका लागि काठमाडौंमा मह मेला आयोजना गरिएको बताए ।

मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ । जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । त्यसबाहेक मह १३÷१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ । यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ । “मह तताउँदा महको केही गुण नष्ट हुन्छ”, श्रेष्ठले भने । उनका अनुसार महको सेवन औषधी मात्रै होइन यो पौष्टिक तत्वका लागि पनि लाभदायक हुन्छ । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन् । मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरु पलायन हुने अवस्थामा समेत पुगेको उनको भनाइ छ । तत्कालीन समयमा सरकारलाई दबाब दिँएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो ।

“हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौँ, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ”, उनले भने। मह मेलामा भेटिएका चितवनन कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने धारणा राख्छन् । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमका अनुसार नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउँछन् । उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन् ।

“नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ”, उनले भने । उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ । नेपाली महको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ ।

मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँका अनुसार गत वर्षमा पाँच करोडभन्दा बढीको नेपाली मह निर्यात भएको थियो । यसले नेपालमा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ । विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनको धारणा छ । मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ । विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन् ।

किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन् । नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछन् ।

भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ । त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ । मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ । उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ ।

महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन् । नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको छ हजार ५०० गोला छ । सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit