एजेन्सि । इरानमा सैन्य र आणविक स्थलहरू विरुद्ध इजरायलले गरेको आक्रमणको रियादले कडा निन्दा गरेको छ । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको रियादले शुक्रबार इरानका प्रमुख सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको मृत्यु भएपछि कडा चेतावनी दिएको हो ।
इजरायलले इरानमा गरेको हमलाले दुई देशबीचमा पूर्ण युद्धको डर उत्पन्न गरेको छ भने ओमानमा आइतबारका लागि तय गरिएको अमेरिका–इरान आणविक वार्तालाई जोखिममा पारेको छ ।
इजरायलले इरानको नाटान्ज युरेनियम विकास संरचना, परमाणु वैज्ञानिक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको केन्द्रलक्षित आक्रमण गरेको छ । उक्त आक्रमणपछि इरानको विदेश मन्त्रालयले अमेरिका र इजरायल दुवैलाई महंगो पर्ने चेतावनी सँगै हमला अन्तर्राष्ट्रिय कानून र नियम विरुद्ध भएको जनाएको छ ।
“साउदी अरब अधिराज्यले भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गर्दछ, यो आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ र अन्तर्राष्ट्रिय कानून र नियमहरूको स्पष्ट उल्लङ्घन गर्दछ”, विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।
यी आक्रमणहरूलाई ‘जघन्य आक्रमणहरू’ का रूपमा वर्णन गर्दै मन्त्रालले थप भनेको छ, “अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यस आक्रामकतालाई तुरुन्त रोक्ने ठूलो जिम्मेवारी बोकेको छ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने’ प्रतिक्रिया दिएका छन् । आक्रमणपछि तेलको मूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ । जसका कारण व्यापक द्वन्द्वको डरका साथ तेल समृद्ध यस खाडी मुलुकमा आक्रमणले स्तब्ध बनाएको बताइएको छ ।
सन् २०२३ मा चीनले साउदी अरेबिया र इरानबीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो । साउदी अरब र इरानले लामो समयदेखि मध्यपूर्वका द्वन्द्वहरूमा विपरीत पक्षहरूलाई समर्थन गरेका थिए । प्रमुख शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरूले साउदी कूटनीतिक मिसनहरूमा आक्रमण गरेपछि रियादले सन् २०१६ मा सम्बन्ध तोडेको थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्