काठमाण्डौं । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि.’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब डेढ अर्ब रुपैयाँ लगानीमा आइएमई ग्रुपले स्थापना गरेको यो उद्योग रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ।
उद्योगको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशमै अत्याधुनिक प्रविधिमा आधारित, वातावरणमैत्री र गुणस्तरीय उद्योगको स्थापना हुनु नेपालका लागि औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला भएको बताए। उनले यस्तो उद्योगले केवल आयात प्रतिस्थापन मात्र नभई निर्माण क्षेत्रमा दिगो विकासको मार्ग खोल्ने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्राथमिकता दिने प्रतिबद्धता जनाए।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोत साधनको प्रयोगमार्फत निर्माण क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यो उद्योग स्थापना गरिएको जानकारी दिए। उनले स्वदेशमै उत्पादन हुँदै विदेशी मुद्रा बचत हुनुका साथै रोजगारी सिर्जनाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुग्ने बताए।
“यो उद्योगले नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरको निर्माण सामग्री उत्पादन सम्भव छ भन्ने सन्देश दिएको छ,” अध्यक्ष ढकालले भने।
पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित यस उद्योगमा कच्चा पदार्थको मिसावटदेखि बोर्डको कटिङ, प्रेसिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रिया समेटिएका छन्। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्ने क्षमता राखेको छ। ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध यी बोर्डहरू लचकदार, आगोप्रतिरोधी, मौसम–प्रतिरोधी, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन्।
फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानलजस्ता विविध संरचनामा गर्न सकिनेछ। इँटा र प्लास्टरको विकल्पमा समेत प्रयोग गर्न सकिने भएकाले यसको निर्माण लागत र समयमा उल्लेखनीय बचत हुनेछ। यस्तो बोर्ड १०–१५ दिनमै संरचना निर्माण गर्न सकिने भएकाले यसको माग नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र गतिमा बढ्दै गएको छ।
प्राकृतिक प्रकोप—जस्तै भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा यी बोर्डहरू सस्तो, छिटो र दिगो विकल्प बन्ने अपेक्षा गरिएको छ।
स्थानीय रोजगारी प्रवर्द्धनमा जोड दिइएको यस उद्योगमा हाल करिब २०० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्।
एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत नेपालमा निर्माण सामग्रीको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य लिएको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्